मुगु/
मुगुको छायाँनाथ रारा नगरपालिका(६ को विकट गाउँ लिउडीमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन । कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो पटक लिउडीगाउँमा गाडी पुगेको हो।
गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख रुपैयाँ लगानी र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर यो सडक निर्माण गरिएको जनाइएको छ ।
कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख शाहीले चुनावका बेला लिउडी गाउँमा विद्युत् र सडक पुर्याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पुर्याउन सफल भएको बताएका छन ।
यहाँका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पुर्याउने नगरप्रमुख शाहीले बताउनुभयो ।
नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ ।