अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको भावी न्यायाधीशका रुपमा अफ्रिकन–अमेरिकन अश्वेत महिला न्यायाधीशको नाम मनोनीत गर्ने भएका छन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले आफ्नो वाचा अनुसार नै सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि अश्वेत महिलाको नाम प्रस्तावित गर्ने बताएको हो।

सर्वोच्च अदालतका लिवरल उदारवादी न्यायाधीश स्टिफन ब्रेयरले अवकास लिने घोषणा गरेपछि बाइडेनले नयाँ न्यायाधीशको नाम प्रस्तावित गर्न पाउने भएका हुन । न्यायाधीश ब्रेयरले आउँदो जुनमा अवकास लिने सम्भावना छ ।
न्यायाधीश ब्रेयरको अवकास योजनाबारे आधिकारिक जानकारी आउन भने बाँकी नै छ । ब्रेयरको स्थानमा आउने आउने न्यायाधीशका कारण अहिले अमेरिकी सर्वोच्च अदालतमा कायम ६–३ को कन्जरभेटिभ बहुलतालाई भने प्रभावित गर्ने छैन ।
अमेरिकाको सर्वोच्च अदालतमा ९ जना न्यायाधीश रहने व्यवस्था छ । राष्ट्रपतिले मनोनित गरेका व्यक्तिलाई माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि मात्रै न्यायाधीशको नियुक्ति हुन्छ । यसरी नियुक्त भएका न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन । वा उनीहरुले स्वेच्छिक अवकाश लिन सक्ने छन ।