सुचना, समाचार र मनोरन्जन

पोखरा बैदाम प्रहरीमा महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

पोखरा /

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छिन् केही दिनअघि मात्र जिम्मेवारी सम्हालेका प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०ले कार्यकालको शुभकामनासहित पोखरामा स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष पार्वती पाण्डेले सुरक्षा चुनौती रहिरहने लेकसाडइको वडा प्रहरी कार्यालयमा पहिलोपल्ट महिला इन्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचैनमा थप सुधार आउने विश्वास व्यक्त गरे । “हामीले पहिलोपटक महिला इन्चार्ज पाएका छौँ, यो निकै खुशीको कुरा हो, महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौँ”, पाण्डेले भने।

इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताए । उनले भेन, “यो स्वागतले मलाई अझै बढी जिम्मेवार बनाएको छ । आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिँदै अपराध न्यूनीकरणका लागि पहल गर्नेछु ।” उहाँले आफू आएदेखि चोरीडकैती ‘केस’ अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी राख्नसमेत आग्रह गरे । उनले भने, “नेपाल प्रहरीले सीमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसी टिभी राखे भने अपराध अनुसन्धानमा सहयोग पुग्छ ।” उहाँले समाजलाई अपराधरहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताए। “हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दीविनाका प्रहरी हुन्, अपराधरहित समाजका लागि हामी सबैको हातेमालो आवश्यक छ ।” उनले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चुनौतीका रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबमा नपरी नागरिकका लागि काम गर्ने बताए।

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपानेलगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरेका थिए । लेकसाइडमा राति ‘मोडिफाई’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोबारका ध्वनि प्रदूषणसँगै लागू औषध, मादक पदार्थ सेवन गरेर मध्यरातमा होहल्ला गर्ने र चोरीडकैतीसमेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

कमेन्ट्स
Loading...