एलिजा क्षेत्री
पोखरा /
पोखरामा गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको पोखरा थिएटरले उक्त महोत्सवको आयोजना गर्ने भएको हो । मंगलबार पोखरामा पत्रकार सम्मलेन गर्दै थिएटर माघ १ गतेदेखिनै संचालनमा आएको जानकारी गराइएको छ ।
गत वर्ष माघ महिनादेखि विद्यालय स्तरिय नाटक महोत्सवको आयोजना गरिएको थियो । सोहिको सफलता पश्चात अहिले आफुहरुले गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवको आयोजना गरेको संयोजक परिवर्तन कार्कीले बताए । उनका अनुसार गत वर्ष भौतिक उपस्थितिमा महोत्सवको आयोजना गरिएको थियो भने अहिले भर्चुअल माध्यमबाट नाटकको आवेदन आह्वान गरिएको छ ।
भर्चुअल माध्यमबाट आएका नाटकका आधारमा उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने परिवर्तनले बताए । जसलाई पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने र थिएटरको युट्युबमा समेत राख्ने व्यवस्था गरिएको उनले जानकारी गराए ।
आफुहरुले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महोत्सवको आयोजना गरेको उनले बताए ।नाटकमा सहभागीले नेपाली भाषा वा साङ्केतिक भाषाको प्रयोग गर्न पाउने प्रावधान राखिएको छ । कुनै जाति, सम्प्रादय, धर्म, संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक मुल्याङ्कन प्रक्रियामा सहभागी नगराइने नियम बनाइएको छ ।
नाटकको समयावधि घटिमा १० देखि बढीमा १५ मिनेटसम्म हुनुपर्ने परिवर्तनले बताए । उनले भने,“नाटकलाई भिडियोमा खिचेर पठाउनुपर्नेछ । भिडियो स्पष्ट र गुणस्तरयुक्त हुनुपर्नेछ । महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले पनि सहभागी जनाउन सक्नेछन् ।”
परिवर्तनले लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयम् वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने व्यवस्था मिलाएको जानकारी गराए । उनका अनुसार नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्र पनि समावेश गरिनुपर्नेछ । नाटकको भिडियो माघ महिनाको २८ गतेसम्म पठाइसक्नुपर्ने उनले बताए ।
परिवर्तनले उत्कृष्ट चार नाटकलाई पुरस्कृत समेत गरिने जानकारी गराए । चार मध्ये पनि प्रथम, द्धितिय, तृतिय र सान्तवना छुट्टयाई पुरस्कृत गरिने उनले बताए । जसमा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्धितियलाई २५ हजार रुपैयाँ, तृतियलाई १२ हजार ५ सय रुपैयाँ र सान्त्वनालाई ५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिने व्यवस्था छ ।
परिवर्तनले महोत्सवको घोषणा सँगै पोखरा थिएटर औपचारिक रुपमा संचालनमा आएको जानकारी गराएका छन् । करिब १० महिनाको विश्रामपछि देशभरका रंगकर्मीहरुले सुरक्षा नियमहरुको पालना गर्दै नाटकघर संचालनमा ल्याउने निर्णय अनुसार नै आफुहरुको पनि नाटघर खोलिएको उनले बताए ।
परिवर्तनका अनुसार नाटकघरमा दर्शकहरुलाई भौतिक दुरी कायम हुनेगरी राख्ने व्यवस्था मिलाइएको छ । नाटक हेर्न अनिवार्य मास्क लगाउनुपर्ने छ । सबै दर्शकहरुका लागि सेनिटाइजरको समेत व्यवस्था गरिएको उनले जानकारी गराए । नाट्य प्रस्तुतिहरु एक घण्टाभन्दा लामो नहुने उनले बताएका छन् ।