काठमाडौँ/
गएको पाँच दिनदेखि फोहर नउठ्दा काठमाण्डौ उपत्यका दुर्गन्धित बन्दै गएको छ । अहिले उपत्यकाका चोक–चोकमा फोहोरका थुप्रा थुप्रिएका छन । फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र पिच गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न नसकेको हो ।
स्थानीयवासी, काठमाण्डौ महानगरपालिका र सडक विभागबीच छलफल भए पनि सहमति हुन सकेको छैन । सिसडोलवासीले बाटो पिच नभइ फोहर फाल्न नदिने अडान राखेका छन । काठमाण्डौ महानगरपालिकाले भने समस्याको समाधानका लागि पहल गरिरहेको बताएको छ ।

महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले सम्बन्धित सरोकारवाला सबैको यो विषयमा ध्यानाकर्षण गराइरहेको बताए । सडक विभागले तत्काल बाटो बनाउनका लागि आवश्यक जनशक्ति पठाउने बताइसकेकाले अब छिट्टै समस्याको समाधान हुने उनको भनाइ छ । यो सडक खण्डमा बाटो बनाउने भनेर ठेकेदारले लामो समयदेखि काम नथाल्दा समस्या भएको हो । काठमाण्डौ उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहर निस्कने गरेको महानगरपालिकाले जनाएको छ ।