पोखरा /
सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले क्रियाशील दुई महिलालाई उनीहरुले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आज पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले सञ्चालन गर्दै आएको सिद्धि–सेतुली स्मृति पुरस्कारबाट उद्यमशीलता र सशक्तीकरणका माध्यमबाट महिला उद्यमशीलता विकासका लागि काम गर्दै आएकी हिरा भट्टराई र सानिमा स्मृति पुरस्कारबाट फरक क्षमता रहेर पनि सामाजिक क्षेत्रमा क्रियाशील प्रमिला थकालीलाई जनही रु १५ हजार तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय पश्चिमाञ्चलका सहपरीक्षा नियन्त्रक मीना गुरुङले पुरस्कार अर्पण गरेका थिए । प्रतिष्ठानका अध्यक्ष एवं अग्रज पत्रकार कृष्णप्रसाद बाँस्तोलाले संस्थाले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई वर्षेनी पुरस्कारसहित छात्रवृत्ति वितरण लगायतका क्रियाकलाप गर्दै आएको बताए ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व भट्टराईले पुरस्कारबापत प्राप्त रकम महिला सशक्तीकरणको कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गरे भने थकालीले सामाजिक क्षेत्रमा थप कार्य गर्न ऊर्जा मिलेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, सचिव इन्द्रकमल मानन्धरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। पोखरा निवासी विश्वरत्न शाक्यले आफ्ना माता पिताको स्मृतिमा विसं २०६४ मा प्रतिष्ठान स्थापना गरी विभिन्न कार्य गर्दै आएका छन् ।