सुचना, समाचार र मनोरन्जन
Election Commission V2

कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल

काठमाडौँ/

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा आज सोमवार कोरियाको मानव संशाधन विकास बोर्ड एचआरडी कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे ।

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे। अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने यात्रुले कम शुल्कमा जान पाउनेछन् ।

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताएका थिए । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भएकोले क्वरेण्टीन अभावले धेरै श्रमिक एकै पटक लैजान नसकिएको उनले बताए । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिनुहुँदै एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाए ।

यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो हप्तादेखि श्रमिक लैजान रोकिएकोमा भर्खरै फेरि खुला गरिएको थियो । झन्डै सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना सङ्क्रमणपछि नौ सय ८४ जना गइसकेका छन् भने आज एक सय ७४ जना जाँदैछन । यसपछि मार्च १६ गते एक सय ७० जना जानेछन । नेपालीहरू मेहनती र इमानदार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताए । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आएका छन।

कमेन्ट्स
Loading...