सन्तोष बस्याल /
२०५४ सालमा देउराली ब्याण्डमा आबद्ध भई औपचारिक रुपमा सांगीतिक क्षेत्रमा लागेका आनन्द बज्राचार्यको “मनलाई ढाँटी” सार्वजनिक भएको छ ।
तीर्थ श्रेष्ठको रचना र सुनिल थापाको संगीतमा स्वर आनन्दले भरेका हुन् । “कन्टिन्युटी— ४” एल्बमका लागि सर्वाजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन् । सम्पादन र छायांकन समेत गुरुङकै हो ।
गीतलाई नेत्र इन्टेरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । दीपक गुरुङ चेग र आमिन बज्राचार्यको अभिनय रहेको म्युजिक भिडियो निर्माणको विषयमा बोल्दै आनन्दले संगीतमा केही फरकपन पस्कने हेतुले आफूले उक्त गीत सार्वजनिक गरेको बताए ।
उनले भने,“ मनलाई ढाँटी मेरो “कन्टिन्युटी—४” एल्बममा समावेश गरिएको छ । चार वटा गीत रेकर्ड भइसकेका छन् । अन्य गीतलाई सार्वजनिक गर्ने तयारीमा छु ।” बज्राचार्य संगीतमा बुबा प्रज्ञारत्नको प्रेरणाबाट आएका हुन् । सानैदेखि गीत गाउन हुरुक्कै हुने बज्राचार्यलाई स्कुलमा हुने संगीत सम्बन्धि कार्यक्रमले निखारता दिलायो ।
बज्राचार्यको पहिलो गीत “रातको सपनीमा” हो । जसलाई उनले २०५२ सालमा रेकर्ड गराएका थिए । उक्त गीत देउराली ब्याण्डको “अन्यौल” एल्बममा समावेश गरिएको छ ।
बज्राचार्यले त्यतिबेला संगीत संघर्ष गरे । जतिबेला पोखरामा ब्याण्डको लहर चलेको थियो । २०६३ सालसम्म उनले निरन्तर ब्याण्डकै नामबाट एल्बम सार्वजनिक गरे । देउराली ब्याण्डको पहिलो एल्बम अन्यौल रहयो । त्यसपछि ब्याण्डबाट “लुकीचिरी—२०५४”, “अथाह—२०५६”, “निरन्तरता ” सार्वजनिक गरियो । २०६८ सालबाट आनन्दले सोलो एल्बमको रुपमा “सुयोग”, “कन्टिन्युटी—२” सार्वजनिक गरे । “कन्टिन्युटी—३” ले समेत निरन्तरता पायो ।
तत्कालिन समयमा आनन्द सहित, शान्त बज्राचार्य, तेज किसी, मनिराज, बसन्त थापा, राजेश बुद्धाचार्य मिलेर ब्याण्डको स्थापना गरेका थिए । आनन्द अहिले उक्त ब्याण्डमा छैनन् । सोलो रुपमा नै उनी प्रस्तुत हुँदै आएका छन् । ब्याण्ड सहित सोलो नम्बर गरी आफूले हालसम्म ६ दर्जन गीत सार्वजनिक गरेको उनले बताए ।
सार्वजनिक मनलाई ढाँटी गीतको अडियो रेकर्ड पल्स रेकर्डिङ स्टुडियोमा गरिएको हो भने यसको मिक्सिङ बार डिजिटलका बुद्ध बज्राचार्यले गरेका हुन् ।