सुचना, समाचार र मनोरन्जन
kumdini

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे । तर, काठमाडौँबाट गाउँमा शव लैजान आफन्तलाई धौ–धौ पर्यो ।

हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन् । “अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर, आर्थिक समस्याले हेलिकोप्टर चार्टर गर्न सकिएन,” स्वर्गीय उमाका आफन्त नवीन गुरुङले भने, “आफन्त र काठमाडौँमा बस्ने गोरखालीसँग सहयोग मागेर रकम जुटायौँ ।”

British college

सुरुमा उनलाई गोरखाकै सिर्धीबास स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि एक लाख ४० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरी उमालाई काठमाडौँ लगिएको थियो । काठमाडौँ पुग्नेबित्तिकै उनको मृत्यु भएपछि पुनः एक लाख ६० हजार रुपियाँ जुटाएर शव गाउँ पठाउने बाध्यतामा आफन्त परेका थिए ।

काठमाडौँमा अध्ययनरत आफन्त जोनिशा गुरुङले भनिन्, “हाम्रो दुःख बुझेर धेरैले सहयोग गरिदिनुभयो । आर्थिक सहयोग जुटाएर काकीको शव गाउँ पठाउन सक्यौँ ।”

हालसम्म यातायात सञ्जाल नजोडिएको उत्तरी गोरखाका धेरै सर्वसाधारणको अस्पतालै नदेखी मृत्यु हुने गरेको छ । कसैले अस्पताल देख्छन् । तर, ऋणको भारी बोकाएर संसार छाड्छन् । “अस्पताल लगेर कोही बाँच्यो भने पनि ऋण तिर्दैमा जिन्दगी जान्छ,” चुमनुब्रीका पासाङ लामाले भने, “मरियो भने पनि परिवार र आफन्तले सास्ती भोग्नुपर्ने हुन्छ ।”

आजको गोरखापत्र दैनिकबाट साभार ।

कमेन्ट्स
Loading...