कुनै देश,समुदाय,वर्ग वा जाती बिशेषले मान्ने धर्म भन्दा फरक धार हो आध्यात्मिकता । आत्मानुभूति भए पश्चात मानिस नकारात्मक हुनै सक्दैन । चरित्र स्वत निर्माण हुदै जान्छ । मानिस सुखी आनन्दित हुदै जान्छ । यही आनन्द प्राप्ति गर्नु नै मानव जीवनको उद्देश्य हो । मननशील भएकै कारणले मानिसलाई मानव भनिएको हो । यसबाट यो बिस्वास गर्न सकिन्छ कि बुद्धिलाई पवित्र बनाउने मुख्य साधन मनन हो । जतिजति हामी सत्कर्म र सद्विचारको मनन गर्दछौ उतिउति नै हामीमा मानसिक स्थिरताको साथसाथै सत्कर्म तथा सद्विचारमा अनुराग बढ्दै जान्छ । हामीले धारण गरिरहेको यो शरिर भौतिक हो । यो पञ्च तत्वबाट बनेको छ । यसलाई स्वस्थ तथा तन्दुरुस्त राख्न खाना चाहिन्छ ।
शरिर हामीलाई आफ्नो गन्तव्य सम्म पुर्याउने माध्यम हो ।तसर्थ,यसको उपयुक्त पोषण गर्नको निमित्त सात्विक भोजन आबश्यक हुन्छ । खाना बाँच्नका लागि खानुपर्छ । तर खानको लागि बाँच्नेले जेपनि खान्छन् र त्यस प्रकारका मानिस आफूमा सकारात्मक सोंचको विकास समेत गर्न नसक्ने हुन्छन् । यो दुनियाँका अधिकांस मानिसहरु खान नपाएर भन्दा शरिरलाई चाहिने भन्दा बढी भोजन गरेर अल्पआयु मै मृत्युवरण गर्न पुग्छन् । “हरेक दिन जीवनको अन्तिम दिन हो “ भन्ने ब्रह्मज्ञानलाई हृदयङ्गम गरी हरेक दिन यथासक्य राम्रो काम गर्दै जानु पर्छ । जीवन यात्रामा अघि बढ्ने क्रममा बिभिन्न प्रकारका बिघ्नबाधाहरू हाम्रो अगाडि आईरहेका हुन्छन् । ति सवैबाट पार पाउन नयाँ तरिका अपनाउन जरुरी हुन्छ,त्यो हो आद्यात्मिक मार्ग । सत्य सत्य नै हो भने तथ्य तथ्य नै हो । सत्य सधै सत्य नै रहन्छ । झुटो टिक्दैन,सत्य डग्दैन । असत्य अर्थात् बिभिन्न खाले आलोचना,आक्रमण र अपराध जस्ता झुटोपन तथा गल्तीको परिणाम पतन निम्त्याउँछ अन्ततः बिनाससम्म नै पुर्र्याउँछ ।
सुनौलो युग त्यो समय थियो जब विश्वमा पूर्ण शान्ति र सुखको साम्राज्य थियो । यस सृष्टिलाई फूलहरूको बगैचा भनिन्थ्यो । प्रकृति पनि सतोप्रधान भएकोले त्यहाँ कुनै प्रकारको प्राकृतिक आपतकालहरू थिएनन् । सबै मानिसहरुमा सतोप्रधान तथा ईश्वरीय सद्गुण थिए, आनन्द र खुशीले बाँचेका थिए । त्यसबेला यस संसारलाई स्वर्ग भनिन्थ्यो,जसलाई सत्ययुग पनि भनिन्छ । त्यस संसारमा समृद्धि,खुशी र शान्तिको मुख्य कारण त्यसबेलाका राजाहरू र प्रजाहरू सबै पवित्र र उच्च थिए । त्यस संसारको तुलनामा आजको मानिस विकारी दुखी र अशान्त भएका छन् तसर्थ यो संसार रौरव नरक भएको छ ।
त्यही भएर सबै मानिसहरुले पनि आह्वान गर्दछन् हे प्रभु, हामीलाई दुःख र अशान्तिबाट मुक्त गर्नुहोस् र हामीलाई मुक्तिधाम वा स्वर्गमा लैजानुहोस् । यदि दिमाग र बौद्धिकतालाई ईश्वरीय ज्ञानको आधारमा सही दिशा दिन सकियो,दिव्यीकरण गरियो भने मन बुद्धि शक्तिशाली बन्छ र यसले मानवलाई सुनौलो युगमा लिन सहज हुन्छ । सकारात्मक सोच,राजयोगको नियमित अभ्यासले विकारहरू हटाउन मनोबल दिन्छ । दिव्यगुणले जीवन सिंचित भएमा सूर्यमुखी फूल जस्तै सदा हर्षित रहन सकिन्छ । जीवनमा मानव मूल्यहरुको धारणा प्रेम,सन्तुष्टि,गम्भीरता, नम्रता,सहिष्णुता, र आदिको धारणा तथा आदरयुक्त व्यवहारले व्यक्तिलाई सवैको प्रिय बनाउँछ । यस प्रकार अन्य माध्यमहरूद्वारा मानिसले आफ्नो आध्यात्मिक सशक्तीकरण गर्न सक्दछ र नयाँ दिव्य युगमा जानको लागि आफ्नो ईश्वरीय जन्म अधिकार प्राप्त गर्न सक्दछ । आज मानवको सम्झनामा केवल व्यक्ति,शरीर,वस्तु वैभव मात्र हुनुको कारण ज्ञानको ज्योतिलाई बिर्सेको छ,त्यसैले अति नै साँघुरो दायरा भित्र व्यवहार गर्दछ । यस दुनियाँमा न त सम्वन्धमा सुमधुरता छ न जीवनमा सुख वा शान्ति नै छ । स्वार्थ, कटुता, शंका, ईष्र्या अहंकार शंशय,आदिको दरारहरु सबैको हृदयमा आउँछन् । सृष्टिलाई सुनौलो युग बनाउने एक मात्र विधि आजको मानव शक्तिलाई सशक्त पार्नु हो । आत्मारुपी ज्ञानरुपी वत्ति तथा योगरुपी घृतले स्मृती प्रकाशमान हुन्छ सो उज्यालो चारैतिर फैलन्छ । संसारको हितको लागि व्यवहार गर्दछ । यस असीम वृत्तिको कारण दृष्टिमा आत्मियता आउँछ र सवैप्रति निस्वार्थ प्रेम वढ्छ । जीवन समग्रमा सुगन्धित फूल जस्तै सुखद हुन्छ । जब संसारमा चारैतिर यस्तो प्रवृत्ति हुन्छ, तब त्यहाँ सत्य मात्र हुन्छ, जसको कारण यसलाई सुनौलो युग भनिन्छ । वर्तमान समयमा, मानवको स्मृतिलाई शुद्ध र शक्तिशाली बनाउँदै आध्यात्मिक सशक्तीकरणको यो महान कार्य सर्वोच्च परमेश्वर भगवान शिव स्वयं प्रजापिता ब्रह्माको माध्यमबाट गराउँदै हुनुहुन्छ ।
स्वर्णिम युगमा प्रवेश गर्न वा यसको ढोका खोल्नको लागि अनुपम कुञ्जी भनेको जीवनमा ईश्वरीय ज्ञान, सहज राजयोग,ईश्वरीय गुणहरूको बोध तथा आध्यात्मिक सेवा अपनाउनु हो । ईश्वरीय ज्ञानका केही मुख्य पक्षहरू छन्– आत्मा, परमात्मा र विश्व सृष्टि चक्रको वास्तविक ज्ञान जुन केवल भगवानले गर्नुहुन्छ। उहाँ आफैले परिचय गराउनुभएको छ कि “मेरो नाम शिव हो,म परमधामको निवासी हुँ, मेरो रूप ज्योतिबिन्दु हो र म शान्ति, प्रेम र आनन्दको सागर हुँ । म जन्म र मरण रहित दिव्दृष्टि विधाता र मुक्ति जीवनमुक्तिदाता हुँ । तिमी आत्माहरूपनि म जस्तैे ज्योतिर्बिन्दु छौ । शान्ति, आनन्द, प्रेम, शुद्धता र ज्ञानस्वरुप छौ । निधारको वीचमा अवस्थित मन,बुद्धि र संस्कार तिमी आत्माहरुको शक्ति हुन । यो मानव सृष्टि चक्र अनन्त खेल हो जुन प्रत्येक पाँच हजार बर्ष पछि हुवहु पुनरावृति भईरहन्छ । यस विश्व चक्रमा चार युगहरू छन् सतयुग,त्रेता, द्वापुर र कलियुग प्रत्येकको १२५० वर्ष समयावधी रहेको हुन्छ ।” जसरी अगरवत्तिले चारैतिर वातावरणलाई सुगन्धित र ताजा वनाउँछ त्यसरी नै योगी व्यक्तिको जीवन सँधै अरूको लागि हुन्छ । सद्गुण, दिव्य विचार र दिव्य कर्र्महरूको सुगन्धले अरुलाई आकर्षित गर्छ ।
नम्रता, सन्तुष्टता, हर्षित चेहेरा, गम्भीरता, अन्तरमुखता एवं सहिष्णुताल स्वयंको जीवन र सम्पर्कमा आउनेहरूको जीवनमा साँचो खुशी दिन्छ । मन, वचन र कर्मका साथ अरूको सेवा गर्नेले सुनौलो युगको ढोका खोल्नको लागि भगवानको सच्चा सहयोगी वन्न सक्छ । वर्तमानमा सबै मानव आत्माहरू आफ्ना कमजोर र जटिल विचारहरू र तमोप्रधान बुद्धिका कारण संस्कारको अधीनमा छन्। जसको कारण संसारभरि दुःख,अशान्ति र त्राही त्राही व्याप्त छ । सबै इच्छाहरूको अधीनताका कारण सबैमा असन्तुष्टि छ । त्यसकारण आजको आवश्यकता हो आत्मारुपी राजालाई पुनः शक्तिशाली वनाउने जुन आध्यात्मिक सशक्तिकरणबाट संभव छ जसलाई आन्तरिक सशक्तिकरण पनि भनिन्छ । यदि आत्मा आन्तरिक रूपमा शक्तिशाली छ भने यसको बाह्य रूप अर्थात् उसको शरीरका शारीरिक इन्द्रियहरु पनि आध्यात्मिक रुपमा शक्तिशाली हुन्छन् र आत्मा राजाको आज्ञा अनुसार काम गर्दछन । अर्को शब्दमा भन्ने हो भने आध्यात्मिक सशक्तिकरणको वाह्य रुपको तात्पर्य शरीरका पाँच कर्मेइन्द्रियहरु आँखा दृश्य, कान सुन्ने, नाक गन्ध, मुख–जिब्रो स्वाद र हात स्पर्श आत्माको नियन्त्रणमा हिंड्न सकुँन् । यसका लागि मन र बुद्धि सतोप्रधान भई सकारात्मक सोच्नु, छिटो र सटीक निर्णय लिनु तथा संस्कार शुद्ध र कल्याणकारी हुन जरुरी छ । छोटकरीमा, यो भन्न सकिन्छ कि आन्तरिक सशक्तिकरण बाह्य सशक्तिकरणको आधार हो ।
भनिन्छ कि आज भोलिको एक दर्पण हो । यदि आज हामीले संगम युग कलियुगको अन्त र सतयुगको शुरुवात मा आध्यात्मिक तवरले आफूलाई सशक्त बनायौं भने भोलि सतयुग हाम्रो लागि स्वतः शुभ हुनेछ । कलियुगको अन्त्यमा अनेक धर्महरू,भाषाहरू,कुलहरू,राज्यहरू, मतमतान्तरहरु भएकोले आज संसारमा थुप्रै प्रकारका द्वन्द्वहरू देख्न सकिन्छ । परिणामतः अनेकौ दुःख तथा परोक्ष अपरोक्ष तवरले युद्धको कारण हुन्छन्। यसको विपरीत सतयुगमा श्रीनारायणको एक छत्र राज्य छ,त्यहाँ एक धर्म,एक भाषा,एक विश्वास छ र सम्पूर्ण विश्वमा सुख,समृद्धि र खुशीका बाँसुरी वज्दछ । यस समय हिन्द,मुस्लिम, सिख, ईसाई,बौद्ध, जैन, आदि सबै धर्महरूले केवल ’प्रेम’ को पाठ सिकाउँछन् तर व्यावहारिक जीवनमा धारणाहरू बनाउने यो काम केवल एक भगवानले मात्र गर्न सक्नुहुन्छ । हृदय प्रेम र भावनाको प्रतीक मानिन्छ । संगम युगमा प्रेमरुपी धर्मको धारणाले सुनौलो युगमा एक आदी सनातन देवी देवता धर्ममा रुपान्तरित हुन्छ ।
आध्यात्मिक सशक्तिकरणले आत्माको भाषाको ज्ञान तर्फ डोर्र्याउँछ यसको मतलब हो कि आफूलाई एक आत्माको रूपमा बुझ्नु, अरुलाई आत्माको रुपमा हेर्नु र आध्यात्मिक आधारमा व्यवहार गर्नु । यहाँ संगम युगमा आत्माको भाषाको व्यवहार सतयुगमा आपसी व्यवहार बन्न जान्छ । यसरी आद्यात्मिक ज्ञानले संगममा कुनै भेदभाव नगरी सबैको साथ उच्च स्तरको मानव व्यवहार गरी एउटै परिवारको रूपमा मानवलाई बाँध्छ । जुन सुनौलो युगमा ईश्वरीय कुलको रूपमा परिणत हुन्छ ।
त्यसैले आजको आध्यात्मिक सशक्तीकरण संगमयुग आउँदै गरेको भोलि सतयुग को सम्वृद्ध राज्य व्यवस्थाको आधार बन्छ । जसले अहिले आत्मा राजाको आदेशमा आफ्ना कर्मइन्द्रियहरुलाई स्वभाविक तवरले राज्य गर्न सक्छ,उसैले स्वर्ण युगमा सफल प्रशासन चलाउन सक्दछन् । स्व राज्य अधिकारी नै भविश्यको विश्व राज्य अधिकारी स्वतः वन्दछ ।
यो प्रकृतिको नियम हो कि प्रत्येक बस्तु,सभ्यता,संस्कृति, धर्म, संस्था, आदि सबै यसको सतोप्रधान चरणबाट खसेर तमोप्रधान पतनको चरणमा पुगेको हुन्छ । प्रारम्भिक चरणमा प्रत्येक धर्ममा आध्यात्मको कारण आन्तरिक बल हुन्छ । यसका अनुयायीहरूसँग त्याग,तपस्या, सेवा र सादगी हुन्छ । तर समय बित्दै जाँदा यी गुणहरू घट्न थाल्छन् र कलियुगको अन्त्यसँगै आध्यात्मिक शक्ति पनि हराइसकेको हुन्छ । मानवीय र आध्यात्मिक मूल्य मान्यताहरू प्रायः गायब हुन्छन् । ’धर्म’ केवल विश्वासको रुपमा हुन्छ र प्रायः पूर्ण रूपमा पवित्रता वा शुद्धता घट्छ ।
‘तिनीहरू ’माया’ वा दुर्बलताबाट हराएको महसुस गर्दछन् र सोच्छन् कि सर्वोच्च पिता वा उनीहरूको धर्मका पिताले मात्र उनीहरूलाई ’माया’ को जंजिरबाट हटाउन सक्नुहुन्छ। हामी यस निष्कर्षमा पुग्दछौं कि यद्यपि भगवानले दिशा निर्देश गर्नुहुन्छ र सहयोग पनि गर्नुहुन्छ, तर हामीले प्रयास आफैंले गर्नुपर्यो तबमात्र हामी वास्तविक आनन्द र सन्तुष्टिले अनुभूती गर्न सक्नेछौ । धेरै जसो शारीरिक र प्राकृतिक घटनाहरू चक्रीय क्रम र निश्चित समयमा पुनरावृती हुन्छन् ।
सामान्यतया दिन र रातको २४ घण्टाको चक्र हुन्छ । त्यसैगरी ऋतु चक्र एक वर्षदिनमा निरन्तर चलिरहन्छ । वर्षाचक्रमा समुद्रको पानी सूर्यको तापबाट वाष्पीकरण हुँदै बादलको रूप लिन्छ । यी बादलहरू पहाड र मैदानमा वर्षाको रूपमा वर्षिएर नदी, खोला र झरनाहरुको रूपमा वहदै समुद्रमा आएर मिसिन्छ । जुन चक्र दोहोरिरहन्छ । वनस्पति चक्रमा पहिला बीजबाट अंकुर बाहिर आउँछ त्यसपछि बिरुवा र पछि रूख हुन्छ बृक्ष नष्ट हुनु अघि नयाँ बीउहरू उत्पादन गर्दछ, जसले फेरि नयाँ रूख सिर्जना गर्दछ । मानव जीवनमा आत्माले पहिले आमाको गर्भमा शरीर धारण गर्छ त्यसपछि क्रमशः नवजात शिशु,वालक, किशोर, युवा, वयस्क र बुढ्यौली अवस्थामा प्रवेश गर्दछ र यो शरीरलाई छोडी दोस्रो शरीर समातेर फेरि मानव जीवन चक्रमा आउँदछ । त्यस्तै त्यो विश्व चक्र पनि जारी रहन्छ । शुरुमा साढे दुई हजार वर्षमा सत्ययुग–त्रेतायुग जहाँ एक धर्म, एक राज्य,एक भाषा र एक मत भएको कारण सुख शान्तिको सहनाई वज्दछ । पछिल्लो साढे दुई हजार वर्षमा द्धापर–कलियुग अनेक मत मतान्तरको कारण द्धैत कलह, झगडा र क्लेशले दुःख अशान्ति उत्पन्न हुन्छ।
कलियुगको अन्तमा विज्ञान आफ्नो चरमोत्कर्षमा पुग्छ र धेरै सुखका साधनहरूको साथ साथ आणविक हतियारहरूको निर्माण गरी प्रदूषण फैलाउन भूमिका निभाउँछ । यस कारणले गर्दा धेरै प्रकारका रोगहरू शोक, दुःख, अशान्ति बढ्दछ । सबै मानिस अमानवीय,कुटिल र अपवित्र हुन्छन् जसका कारण तिनीहरूको आहार, व्यवहार, दर्शन, दिमाग, शब्द र कर्महरू तमोगुणी हुन्छन् । जो अति धर्मको महाग्लानीको समय मानिन्छ । सृष्टि नाटकका निर्माता र निर्देशक सर्वोच्च पिता शिवले प्रजापिता ब्रह्माको शरीरमा अवतरण भएर हामी मानिसहरूलाई मार्गदर्शन गर्न ईश्वरीय जन्मसिद्ध अधिकार दिदै हुनुहुन्छ । यसलाई पुरुषोत्तम संगम युग भनिन्छ जुन कलियुगको अन्त्य र सतयुगको शुरुवातको सन्धिकाल हो । यो आध्यात्मिक सशक्तीकरणको समय हो । यसपछि सुनौलो युग फेरि आउनेछ । जसले आध्यात्मिक सशक्तिकरणको माध्यमबाट आफूलाई सशक्त बनाउनेछन त्यही आत्माहरु स्वर्णिम युगका लायक र सञ्चालक हुनेछन् । जब कुनै व्यक्तिले शरीर छोड्छ प्रायः भन्ने गरिन्छ कि ऊ स्वर्गमा गएको छ । अर्को शब्दमा यसको भावार्थ यही रह्यो कि उ पहिला नरकमा थियो र मृत्युपछि स्वर्गमा गयो । अब सर्वोच्च पिता निराकार ज्योतिविन्दु शिव जो त्रिकालदर्शी र ब्रह्माण्डको आदी मध्य र अन्तको ज्ञाताले बताउनुभएको छ कि यस सृष्टिको अतिरिक्त स्वर्ग र नरक छुट्टै दुनियाँ अर्को छैन । मानव आत्माहरु सबै सद्गुणले भरिएका हुन्छन्,१६ कला पूर्ण छन, निर्विकारी हुन्छन,सम्पूर्ण अहिंसक वा मर्यादा पुरुषोत्तम वन्दछन् तब यस सृष्टिलाई स्वर्ग भनिन्छ । किनभने यसलाई स्वर्ग, अल्लाहको बगैंचा, हेविन पारडाइज नामले चिनिन्छ ।
आफैं भगवानले यस्तो सृष्टि बनाउनुहुन्छ । जीवनमा खुशीको धेरै रंगहरूमा विलीन हुन्छन् । सम्पूर्ण राज्य कारोवार पूर्णतया तनावमुक्त छ वा स्वचालित हुन्छ । जीवनमा कुनै पनि काममा कडा परिश्रमको भावना हुँदैन । यसलाई जीवन मुक्त चरण भनिन्छ । जहाँ कसैको अनियन्त्रित वा अकालै मृत्यु हुँदैन । प्रत्येक व्यक्तिको शरीर सँधै स्वस्थ र सबै उज्यालोको खजाना हुन्छ । देवआत्माहरु सम्पूर्ण खजानाले भरपूर रहेका हुन्छन।