काठमाडौं /
यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ ।
फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ । उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित हुनेछ ।
किनकि युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।
लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा छ । ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न चाहन्छ । लिभरपुलका जर्मन प्रशिक्षक क्लोप फाइनलका लागि टिम राम्रो अवस्थामा रहेको बताउछन् ।
‘हामी सबै राम्रो मुडमा छौं । यदि तपाई स्वस्थ हुनुहुन्छ भने केटाहरू पक्कै छन् । जीवनले बारम्बार अवसरहरू दिन्छ । यो च्याम्पियन्स लिगको फाइनल हो,’ क्लोप भन्छन् ।
लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । तर, क्लोप च्याम्पियन्स लिगको उपाधि जित्न कठिन रहने गरेको दाबी गर्छन् । ‘पाँच वर्षमा तीन फाइनलहरू असाधारण छन् किनभने यो प्रतियोगिता साँच्चै गाह्रो छ । तर, यो वास्तवमै विशेष छ,’ क्लोप थप्छन् ।
ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ । पेरिसमा रियल आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । जसका लागि टोली तयार भएको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी बताउँछन् ।
‘दुई उत्कृष्ट टोलीहरू एकअर्काको सामना गर्दैछन् । साहस र व्यक्तित्व भएकोले अन्तमा जित्नेछ,’ एन्सेलोटीले फाइनल अघि भनेका छन् । युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन खेल जितेको छ ।
यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो । च्याम्पियन्स लिगको फाइलनमा भने दुई टिमबीचको यो तेस्रो भेट हो । त्यसमध्ये सन् १९८०–१९८१ मा लिभरपुल ३–१ ले विजयी रहेको थियो भने सन् २०१७–२०१८ मा रियल ३–१ ले विजयी भएको थियो ।
