सुचना, समाचार र मनोरन्जन
kumdini

विराटनगर महानगरका मेयर नागेश काेइरालालाई ९ प्रश्न

विराटनगर /

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन्।

सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी भए। नगरप्रमुख कोइरालासँग रासस प्रदेश नं १ कार्यालय राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

.यहाँका पिताजी स्वर्गीय कृष्णप्रसाद कोइरालाले स्थापना गरेको यो विराटनगर सहर राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवं सामाजिक महत्व बोकेको छ, यसलाई तपाइँले कसरी कायम राख्नुहुन्छ ?

हो विराटनगर शहर स्थापना गर्नेदेखि यहाँ विकासको पूर्वाधार निर्माण गर्न मेरा पिताजी कृष्णप्रसाद कोइराला र त्यसपछि गिरिजाप्रसाद कोइरालालगायत धेरै अग्रजहरुले महत्वपूर्ण  भूमिका निर्वाह गर्नु भएको छ । नेपालको राजनीतिमा विराटनगरको योगदान ठूलो रहेको छ ।

लामो समय स्थानीय निकाय निर्वाचन नहुँदा जनताको भावनाको प्रतिनिधित्व हुन सकेको थिएन । पछि जनप्रतिनिधि आइसकेपछि मुलुकमा कोरोनाको महामारीका कारण विकास निर्माणले गति लिन सकेन । विराटनगरको ऐतिहासिक महत्वलाई स्थापित गर्दै जनताको भावनाअनुसार विकासका क्रियाकलापहरु सञ्चालन गर्ने दृढता लिएको छु ।

विराटनगर औद्योगिक नगरीको रुपमा पनि परिचित छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई नयाँ उद्योग स्थापनाप्रति आकर्षित गर्न कस्तो योजना बनाउनुभएको छ । यस क्षेत्रमा पहिले स्थापना भएका अधिकांश ठूला उद्योगहरु विस्थापित भएका छन् भने साना तथा लघु उद्योग करिब १३ हजार छन् ।

तीमध्ये छदेखि सात हजार सञ्चालित छन् भने बाँकी त्यत्तिकै खाली बसिरहेका छन् । ती उद्योगलाई पुनः सञ्चालन गर्ने, विस्थापित हुने अवस्थामा रहेका उद्योगीहरुको भावना बुझ्ने र सुविधा दिएर भए पनि उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने योजना बनाएको छु । यसबाट अर्थतन्त्र चलायमान मात्र होइन, प्रशस्त रोजगारी पनि सिर्जना गर्न सकिन्छ । विराटनगरको साखलाई बढाउन लघु उद्योगको पनि धेरै ठूलो भूमिका हुन सक्छ ।

विराटनगर जुट मिलको ५०० देखि ६०० बिघा जग्गा त्यत्तिकै खेर गइरहेको छ । देशकै प्रसिद्ध मानिएको यस जुट मिललाई पुनः जीवित बनाउन भन्दा पनि त्यहाँ रहेको जग्गा विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ र त्यहाँबाट हामीले भारतलगायत अन्य देशको लगानी भित्र्याउन सकिन्छ । यसबारेमा उद्योगीहरुसँग कुराकानी पनि भएको छ । यसो गर्न सकिएमा रोजगारी सिर्जना र महानगरपालिकाको आम्दानी बढाउन सकिन्छ ।

.काठमाडौँ महानगरपालिका प्रमुखले फोहर व्यवस्थापन, धरान उममहानगरपालिकाका प्रमुखले पानीको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे जस्तै विराटनगर महानगरपालिकाको प्रमुखको हैसियतले तपाइँले के कुरालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?

यो मानवको आवश्यकताको कुरा हो, तपाइँ एउटा पसलमा जानुहुन्छ, एक गिलास पानी माग्नुहुन्छ तर पसलले मिनर वाटर किन्न भन्छ, त्यसपछि तपाई शौचालय जानु हुन्छ तपाईलाई शौचालय चाहिन्छ । अब तपाइँ खाना खानुहुन्छ वा विभिन्न वस्तु उपभोग गर्नुहुन्छ र त्यसबाट फोहर हुन्छ, फोहरलाई व्यवस्थापन गर्नुपर्छ । खाना खाएर पेट भरेपछि तपाईंलाई एकछिन हरियाली चाहिन्छ, त्यसको लागि पार्क चाहिन्छ ।

एकछिन आराम गरेपछि सडकमा हिँड्नुहुन्छ, सडक अस्तव्यवस्त भेट्नुहुन्छ, सिटी सफारी पनि त्यही, गाडी पनि त्यहीँ छ, रिक्सा, ट्रक, साइकल पनि त्यहीँ छ, तपाईं सडकमा सुरक्षित महसुस गर्नु हन्न, हिँड्न सक्नुहन्न । त्यसैले सडक सुरक्षित हुनुपर्‍यो, सडकपेटीमा सुरक्षा हुनुपर्‍यो । सँगसँगै गाडीमा हिँड्नेलाई दुर्घटना हुँदैन भन्ने महसुस हुनुपर्‍यो । त्यसलै विराटनगरमा तीन वटा मात्र रुट छ ।

७०० किलोमिटर नेटवर्क सडकमध्ये २५० देखि ३०० मात्र कालोपत्र भएको देखिन्छ । अरु बाँकी सबै लथालिङ्ग छ । एसियाली विकास बैंकको कार्यक्रम पनि सीमित ठाउँमा मात्र लागू भएको देखिन्छ । विराटनगरमा अझै सडकको समस्या सँगै ढल वा नालीको पनि समस्या रहेको छ ।

अब हामीले ४५० किलोमिटर बाटो बनाउँदा अगाडि भएको २५० देखि ३०० किलोमिटर कालोपत्र सडक भत्किने अवस्थामा पुगिसक्ने हुँदा जम्मा ७०० किलोमिटर बनाउनुपर्छ । त्यसको सञ्जाल बनाउन पर्‍यो । त्यसमा पहिले डुबानको समस्या समाधान गर्नुपर्‍यो, नभए सडक भत्किने हुन्छ । जबसम्म सडकमा पानी जम्न छोड्दैन तबसम्म हाम्रो प्रयास निरर्थक हुन्छ । त्यसैले यस कुरामा हामी गम्भीर छौँ ।

.विराटनगरलाई आधुनिक सहर बनाउने चुनौती छ, यसलाई कसरी तालमेल मिलाएर लैजाने योजना बनाउनुभएको छ ?

धार्मिक र पर्यटकीयस्थलहरुमा विराटनगरको नाम पाएको विराट राजाको राजधानी भएकाले नाम यहीँबाट आएको जस्तो लाग्छ । त्यसलाई विराट राजाको पहिचान र नाम देखिने सङ्ग्रहालय बनाएर धार्मिक पर्यटनमा अगाडि बढाउन सकिन्छ ।

विराटनगरबाट सात जना प्रधानमन्त्री बनेर जानु भएको छ । उहाँहरुको इतिहासलाई वणर्न गर्दै एउटा सङग्रहालय निर्माण गरी मुलुकभरिका नागरिकलाई पूर्वप्रधानमन्त्रीहरुले दिएको योगदानको विषयमा उजागर गराउन सकिन्छ ।

विराटनगरका केशलिया र सिङ्घीया नदीमा तटबन्ध बनाउने र त्यसको माथि सडक बनाउन सकिन्छ । त्यस्तो सडक बालमैत्री, अपाङ्गतामैत्री, दृुष्टिविहीनमैत्री, पैदल यात्रीमैत्री हुनसक्छ ।

.विराटनगर महानगरपालिकामा २०५३ सालमा शिलान्यास भएको चक्रपथले अहिलेसम्म पूणर्ता पाएको छैन्, यसलाई पूरा गर्नुपर्नेतर्फ केही सोच्नुभएको छ कि ?

विराटनगरका लागि ‘वाइपास रोड’ को निकै आवश्यक छ, एउटै सडकमा १० थरिका गाडी सञ्चालन हुने गर्दा सडक असुरक्षित छ, क्षमताभन्दा बढी मालबाहक गाडीमा सामान ढुवानी भइरहेको छ, सडक पनि भत्किरहेको छ । त्यसैले वैकल्पिक सडक निर्माणतर्फ ध्यान दिनु जरुरी छ ।

British college

झण्डै २५ वर्षअघि शिलान्यास भएको चक्रपथ के कारणले सम्पन्न हुन नसकेको यस विषयमा प्रदेश सरकारसँग पनि छलफल गर्नेछु । चक्रपथ सम्पन्न हुन्छ भने गरौँ, होइन भने पूणर् रुपमा बन्द गरौँ भन्नेछु ।

हामी सानो हुँदा चक्रपथ परियोजना आएको थाहा पाएका थियौंँ तर यतिका वर्षसम्म सम्पन्न नभएपछि मैले मेरो घोषणापत्रमा अर्को करिडोर सडक बनाउने उल्लेख गरेको हुँ ।

.विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन के-के योजना बनाउनुभएको छ ?

विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महत्वकाँक्षी योजना बनाइएको छ । विराटनगरलाई साँच्चीकै महानगर बनाउन नयाँ सिराबाट काम शुरु गर्नुपर्ने देखिन्छ ।

शुरुमै दातृ निकायले सहयोग पर्खेर काम हुन सक्दैन । महानगरपालिकाका पहिले आफूमा सक्षम हुनुपर्‍यो, अनि दातृ निकायले पत्याउँछ । त्यो पत्याउने परिस्थिति निर्माण गर्ने कार्य हाम्रो हो, त्यसका लागि हामी समपूणर् टोली लागिरहेका छाैं ।

हामी आत्मनिर्भर भएपछि कोकोसँग कुरा गर्ने, कुन परियोजनालाई आगाडि बढाउने भन्ने कुरा आउँछ । प्राचीन विराटनगरलाई संरक्षण गर्ने र आधुनिक विराटनगर बनाउने हाम्रो उद्देश्य रहेको छ ।

.निर्वाचनताका तपाईंले जारी गर्नु भएको सङ्कल्प एवं घोषणापत्र भन्दा पनि जनताले चाहेका र माग के कस्तो रहेको पाउनु भयो ?

निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुग्दा र अहिले विजयी भएपछि अधिकांश मतदाताको मूल चाहना भनेको कर घटाउनु रहेको छ । जस्तो कि पैतृक सम्पत्तिबाट बनाएको घरको कर रु ५० कर एक्कासी वृद्धि गरेर रु पाँच हजार बनाइएको छ ।

त्यो फरकले गर्दा कतिपयले घरको कर नतिरेको देखिन्छ, कर घटाएर नगरवासीलाई अब कर तिर्न प्रेरित गराउनु पर्ने भएको छ । लक्ष्य अनुसार राजस्व सङ्कलन भए विराटनगरवासीले खोजेको सम्पूर्ण  कार्य गर्न सम्भव छ । पहिले महानगरपालिका सक्षम हुनुपर्‍यो ।

वर्षायाममा नगरका कतिपय स्थानमा डुबानको समस्या छ । व्यवस्थित ढल, नालीको व्यवस्था गरेर डुबानको समस्याबाट मुक्त गराउन आवश्यक छ ।

.नगर क्षेत्रको शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्‍याउन कस्तो योजना बनाउनुभएको छ ?

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ । उच्चस्तरको अस्पतालको आवश्यकता छ, बीमा र सुकुम्वासीको समस्याको समाधान खोज्नु छ । उनीहरुलाई एकीकृत बस्तीमा राख्नुपर्ने आवश्यकता छ् । कतिपय विपन्न जनता अहिलेको कर तिर्न असमर्थ रहेकाले करको दर घटाउने र करको दायरा बढाउनु पर्ने देखिन्छ ।

सामुदायिक विद्यालयमा निजी विद्यालयस्तरको जस्तै स्तरीय पठनपाठनको सुनिश्चित गरी प्रत्येक वडामा त्यस्तो विद्यालय स्थापना गर्नु आवश्यक छ । त्यसपछि पनि महानगरपालिकाका गरिबका छोराछोरी जसले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अथवा आफूले अध्ययन गर्न चाहेको विषयमा आवश्यक सहयोगको प्रबन्ध गरिनेछ ।

अस्पतालको रुपमा १९ वटै वडामा स्वास्थ्य चौकी भए पनि त्यो राम्ररी सञ्चालन भएको देखिंदैन । यसरी छरिएर राख्नुभन्दा एकीकृत महानगरपालिका एउटा गुणस्तरीय अस्पताल स्थापना गरी निजी अस्पताल बराबरको सेवा सहुलित दरमा विराटनगरवासीलाई उपलब्ध गराउन सकियोस् । खानेपानीको योजनामा नगरवासीलाई मिनरल वाटर सरहको पानी धाराबाट उपलब्ध गराउनेतर्फ मेरो प्रयास रहनेछ ।

.सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान अरु महानगरपालिकाको तुलनामा निकै कम छ यसलाई कसरी लिनुभएको छ ?

केही वर्षअघिसम्म विराटनगर देशकै दोस्रो मुख्य शहरको रुपमा परिचित थियो, राजनीतिक परिवर्तनपछि विराटनगरबाट पाँचजना प्रधानमन्त्री हुनुभयो । अहिले आएर नेपालको छैठाैं सहरको रुपमा पुग्नुमा सङ्घीय सरकारले नजर यहाँ नपर्नु नै मुख्य हो । विराटनगरबाट प्रधानमन्त्री बन्नु भएका व्यक्तित्वले देश बनाउन लाग्नुभयो ।

आफैँ जन्मेको हुर्केको ठाउँलाई बनाउनुभन्दा देशभरिको विकासमा केन्द्रित भएकाले यस्तो भएको हो । सङ्घीय सरकारको मात्र मुख नताकी महानगरपालिका आफैँंले पनि आर्थिक स्रोत जुटाउन प्रयास गर्नुपर्छ।

अब हामी रु एक अर्ब राजस्व सङ्कलन गर्ने उद्देश्यले लागि परेका छौँ । विराटनगर सफल र सक्षम बनाउन लागिरहेको छौँ । विराटनगरको साख बचाउने उद्देश्यले कार्य गरिरहेका छौँ, यसमा राजनीतिक दल, नागरिक समाज र सम्पूणर् नगरवासीको साथ र सहयोगको पनि उत्तिकै जरुरत पर्दछ ।

.अन्त्यमा विराटनगरवासीलाई केही भन्न चाहनु हुन्छ ?

मलाई अत्याधिक बहुमतले प्रमुखमा विजयी गराउनु भएकामा सम्पूणर् नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनु भएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमान्दारपूर्वक काम गर्नेछु ।

एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूणर् नगरको मुहान फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्दछ । सँगसँगै खबरदारी र सचेत गराउन पनि आग्रह गर्दछु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशङ्का नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु ।

कमेन्ट्स
Loading...