काठमाडौँ/
सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
उनले कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे। ‘माननीय सदस्यहरू खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ। यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’, सभामुख सापकोटाले भने।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए।