सुचना, समाचार र मनोरन्जन

नेपाल टेलिकमले इन्टरनेटको भाउ घटायो

काठमाडौँ/

नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले रु. २,५०० रहेकामा अब रु १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि रु २,३०० बाट घटाएर रु १,६०० नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः रु २,१०० र रु  १,९०० रहेकोमा अब दुवैको महसुल दर रु। १,५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल रु। २,७०० रहेकोमा अब रु २,४००, ११ देखि १०० एमबीपीएसको रु २,४०० रहेकोमा अब रु २,१०० र १०० एमबीपीएस भन्दा बढीको रु २,१०० रहेकोमा अब रु १,८०० कायम गरिएको उनको भनाइ छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गर्दै आएको छ ।

कमेन्ट्स
Loading...