सुचना, समाचार र मनोरन्जन

क्यान्सरबाट बच्न चाहनु हुन्छ ? दिनहुँ ३० मिनेट हिँड्नुस्

पोखरा /

क्यान्सरको ठुलो कारण हाम्रो अस्वस्थ जीवनशैली हो । शारीरिक व्यायाम र परिश्रम पर्ने काम कम गर्ने अनि एकै ठाउँमा घण्टौँ बसिरहने बाध्यता वा बानी, जङ्क फुडको अत्यधिक सेवन आदिले गर्दा हाम्रो स्वास्थ्यमा अनेकौँ समस्या थपिन थालेको छ । सहरमा स्वस्थ अनि तन्दुरुस्त रहन चाहनेहरूमाझ पछिल्लो समय जिम र योग शिविर जाने क्रम बढेको छ । हालै भएका अध्ययनहरूले तन्दुरुस्त रहन धेरै चिज गर्नै नपर्ने देखाएको छ । यसका लागि दिनहुँ केही बेर पार्क, सडक वा बगैँचामा टहले पुग्छ । यसरी टहल्नु यति जरुरी छ कि तपाई क्यान्सरजस्ता गम्भीर बिरामीबाट पनि बच्न सक्नु हुनेछ ।

हालै हार्वर्ड मेडिकल स्कुलमा भएको एउटा अनुसन्धानका अनुसार दैनिक ३० मिनेट हिँड्दा मुटुसम्बन्धी रोगको खतरा १९ प्रतिशतसम्म कम हुन सक्छ । यसरी टहल्दा हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा समेत आश्चर्यजनक बदलाव आउन सक्छ ।

दिनहुँ ३० मिनेट टहल्दाको फाइदा :

क्यान्सरको खतरा कम हुन्छ ।

बढ्दै गइरहेको तौल नियन्त्रण हुन्छ ।

घुँडा र जोनीको दुखाइबाट आराम मिल्छ ।

इम्युन सिस्टममा सुधार आउँछ ।

गुलियो खानेकुरा खाने इच्छा पनि कम हुँदै जान्छ ।

महिलाको लागि किन जरुरी छ हिँड्न ?

महिलाहरूले दैनिक ३ मिनेट हिँड्दा स्तन क्यान्सरको खतरा कम हुन सक्ने हार्वर्डको अध्ययनले बताएको छ । अध्ययनका अनुसार हिँडडुल गर्दा शरीरमा क्यान्सरविरुद्ध लड्ने कोष बलियो हुन्छ । अमेरिकी क्यान्सर समाजको एउटा अध्ययनका अनुसार जो महिला हप्तामा सात वा सोभन्दा धेरै घण्टा टहल्छन्, हप्तामा तीन घण्टा वा सोभन्दा कम टहल्ने महिलाको दाँजोमा उनीहरूमा स्तन क्यान्सरको जोखिम १४ प्रतिशत कम हुन्छ । अर्थात् दैनिक एक घण्टा हिँडडुल गर्दा स्तन क्यान्सर जस्तो गम्भीर बिरामीको सम्भावना कम गर्न सकिन्छ ।

हिँड्दा तौल नियन्त्रित रहन्छ :

भागदौडपूर्ण जिन्दगीले हाम्रो खानपानमा पनि असर गरिरहेको हुन्छ । बर्गर, पिज्जाजस्ता अनहेल्दी खानाका कारण विश्वभर नै मोटोपना बढिरहेको छ । रिपोर्टका अनुसार ३० मिनेट हिँड्दा १५० देखि २०० क्यालोरी बर्न हुन्छ । अर्थात् ३० मिनेट टहलेर तपाई लगभग एउटा समोसा खाए बराबरको क्यालोरी बर्न गर्न सक्नु हुनेछ । कति क्यालोरी बर्न भयो भन्ने कुरा चाहिँ हिडाईको रफ्तारमा भर पर्छ । प्रतिघण्टा ७ किमीको दरले हिँड्दा ४०० क्यालोरी बर्न हुन्छ ।

जोर्नीको दुखाइबाट राहत :

सामान्यतः उमेर बढ्दै गर्दा मान्छेहरू हिँडडुल नै बन्द गरिदिन्छन् । उनीहरूलाई लाग्छ कि हिँड्दा घुँडामा दबाब पर्न सक्छ । जोर्नीको दुखाइबाट पीडितहरूका लागि टहल्नुले औषधि जस्तै गरी काम गर्ने हार्वर्डमा भएको अनुसन्धानले देखाएको छ ।

बलियो हुन्छ इम्युन सिस्टम :

हाम्रो शरीरको आधार भनेको इम्युन सिस्टम नै हो । जसको इम्युन सिस्टम कमजोर हुन्छ उनीहरूलाई चिसो मौसममा खोकी, ज्वरो जस्ता समस्या बारम्बार आइरहन्छ । यस्तोमा टहल्नु फाइदाजनक हुन सक्छ। टहलेर लामो लामो सास फेर्दा धेरै अक्सिजन तान्छौँ । हिँडडुल नगर्ने मान्छेको तुलनामा दिनमा कम्तीमा पनि २० मिनेट टहल्नेहरू बिरामी भइरहने सम्भावना ४३ प्रतिशत कम पाइएको छ ।

गुलियो खाने तलतल हराउँछ :

कुनै कुराको तनाव भएको बेलामा मान्छेमा चकलेट वा मिठाई खाने तलतल लाग्छ । यसलाई ‘सुगर क्रेभिङ’ भनिन्छ । यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छ । दिनहुँ १५ मिनेट टहल्दा तनावको स्तर कम हुन्छ भनेर बेलायतमा भएका कयौँ अध्ययनहरूले पनि देखाएका छन् । यसले तनाव त कम हुन्छ नै गुलियो खाने इच्छा पनि कम हुन्छ ।

मधुमेह र मुटुका रोगीहरूले हिँड्दा अपनाउनु पर्ने सावधानी :

मुटुसम्बन्धी रोग लागेकाहरूले खाना खाएपछि टहल्नबाट बच्नु पर्छ । खाली पटक टहल्नु फाइदाजनक हुन्छ । खाना खाएपछि त्यसलाई पचाउन दोब्बर रगत चाहिन्छ । यति बेला मुटुलाई पनि दोब्बर रगत चाहिन्छ । मुटुलाई रगत कम भयो भने एनजाइना अर्थात् छातीमा दुख्न थाल्छ । तपाईँलाई मधुमेह छ भने चाहिँ खाना खाने बित्तिकै टहल्नु होस् । अमेरिकन डायबिटीज एशोसियशनको एउटा रिपोर्टका अनुसार खाना खाने बित्तिकै टहल्दा रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।

Leave A Reply

Your email address will not be published.