सुचना, समाचार र मनोरन्जन
kumdini

नवौं राष्ट्रिय खेलकुद : खेलमैदानको अनुगमनमा व्यस्त खेलस्थल व्यवस्थापन उपसमिति

पोखरा /

आगामी असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन उपसमिति उपयुक्त मैदानको अनुगमनमा व्यस्त भएको छ ।

बुधबार खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखराका विभिन्न खेलमैदानको अवलोकन गरेको छ । टोलीले पोखरा १५ द्वारेखर्कस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदान, वन विज्ञान अध्यन संस्थान हरियोखर्कको खेल मैदान र गण्डकी बोर्डिङ स्कुलको खेल मैदानको अवलोकन गरेको उपसमिति संयोजक गुरुङले जानकारी दिए ।

उनले भने, ‘खेल खेलाएर मात्रै भएन, त्यसका लागि ट्रेनिङ भेन्यूपनि चाहियो त्यसका लागि हामीले विभिन्न ठाउँका मैदानहरु हेरिरहेका छौं । खेल खेल्नभन्दा पहिला खेलाडीलाई ट्रेनिङ मैदानका लागि उपयुक्त मैदान खोजिरहेका छौं ।’

उनका अनुसार बुधबार अवलोकन गरिएका पोखरा १५ द्वारेखर्क स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदान केही मर्मत गर्ने हो भने फुटबल, हक्की र रग्वीको लागि उपयुक्त देखिएको, वन विज्ञान अध्ययन संस्थानको मैदान फुटबल, बास्केटबल र क्रिकेटका लागि र गण्डकी बोर्डिङ स्कुलमा फुटबल, बास्केटबल, पौडी तथा इन्डोरहल भएकालेपनि त्यहाँ विभिन्न खेलहरुको सम्भावना देखिएको छ ।

British college

साथै समितिले प्रदेशका ११ वटै जिल्लामा खेल मैदानको संरचना, खेलाडीलाई बसोबासको व्यवस्था , मेडिकल लगायतका सुविधा भएको उपयुक्त मैदानको खोजी गरिरहेको र त्यसको अन्तिम छनौट गरि केही दिनभित्र नै सार्वजनिक गरिने गुरुङले बताए।

अनुगमनका क्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदानमा पुगेको टोलीसँग कुरा गर्र्दै तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज पन्तले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै वनविज्ञान अध्ययन संस्थानका खेल प्रशिक्षक तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडीसमेत रहेका चित्रबहादुर गुरुङले अभ्यास खेलकाका लागि आफुहरुको मैदान उपयुक्त भएको बताए । साफ गेम्स, एशियन गेम्समा मेडलिस्ट समेत रहेका गुरुङले खेल मैदान उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना गर्न लागिएको प्रतियोगितालाई सफल बनाउन सबैलाई अपनत्व लिइदिनपनि आग्रह गरे।

गुरुङको समितिले पोखरा बाहिर तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गोरखा, नवलपुर पुर्व लगायतका जिल्लाका मैदानको अवलोकन गरिसकेको र केही जिल्लामा फेरि जाने तयारी गरिरहेको छ।

अनुगमनमा क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, क्षेत्रिय खेलकुदका डिवी नेपाली, नेपाल भारोत्तनल संघका उपाध्यक्ष राजन बड्गामी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ लगायत टोली रहेका थिए।

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता  प्रदेशका ११ वटै जिल्लालाई समेट्ने गरि सञ्चालनको तयारी गरिएको छ।

कमेन्ट्स
Loading...