काठमाडौं /
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलीरहेको बताएका छन् ।
जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए । उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए।

नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उनले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिए ।नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।
दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।