सुचना, समाचार र मनोरन्जन

कांग्रेसमा विवाद हुँदा सिट बाँडफाँटमा सकस, बढी सिट लिने प्रचण्डको रणनीति

काठमाडौं /

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनको बैठक दैनिक जसो बसिरहेको छ। बैठक आज पनि बस्दैछ। दैनिक सहमति नजिक पुगेको र केही दिनमै सिट बाँडफाँटका विषयमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिन्छन्।

तर सञ्चारमन्त्रीले सञ्चारकर्मीलाई दिएको जानकारी जस्तो पाँच दलीय गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा सहमति भइहाल्ने अवस्था भने छैन। सिट बाँडफाँटका लागि गठित कार्यदलले अबको दुई दिनभित्र सहमतिको खाका शीर्ष नेतालाई दिने बताइएको छ।

तर गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्र सय सिट भन्दा कममा सम्झौता नगर्न दबाव बढेको छ भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसमा अहंकार देखिएको भन्दै एक्लै चुनावमा जानुपर्ने हुन सक्ने चेतावनी दिन थालेका छन्।

कांग्रेसमा संस्थापन इतर पक्षले कांग्रेसले सय सिट लिन दबाव बढाउँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले हार्ने सय सिट लिनु भन्दा जित्ने गरी ८६ सिट लिएर भएपनि सहमति गर्नुपर्ने पक्षमा छन्।

देउवाले भने झैं सहमति भयो भने कांग्रेसभित्र ठूलो विवाद देखिने छ। महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले कांग्रेस शीर्ष नेताहरुको बुधबारको बैठकमा सय सिट भन्दा तल सम्झौता गरिए पार्टीभित्र विद्रोह हुने चेतावनी दिएका थिए।

सिट बाँडफाँटको लागि गठबन्धनले गठन गरेको कार्यदलमा कार्यदल सदस्य एवं पार्टी महामन्त्री गगन थापाले कांग्रेसको बटमलाइन १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये १०० क्षेत्र रहेको प्रस्ताव गरेका थिए। सिट बाँडफाँटमा सभापति देउवा लचक हुने देखिए पनि निर्वाचनको संघारमा कांग्रेसभित्र ठूलो विवाद उत्पन्न हुने देखिएको छ।

बालुवाटार स्रोतका अनुसार कांग्रेसले एक सय सिट दाबी गर्ने तर ९० सिटलाई बटमलाइन बनाउने र अन्तिममा ८६-८७ सिटमा सहमति जनाउने सम्भावना छ। गठबन्धनको घटक माओवादी केन्द्रले कांग्रेसलाई अधिकतम् ८० सिटमा रोक्न खोजेको छ। माओवादीले ६० सिट दाबी गर्ने, ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने ती नेताको दाबी छ।

४० सिट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सिट पाउने सम्भावना भए पनि नेकपा एसका नेताहरूले २० सिटभन्दा तल नजाने अडान लिएका छन्। जसपाले १२ सिटलाई बटमलाइन बनाएको छ भने दुई सिट दाबी गरेको राष्ट्रिय जनमोर्चाले एक सिट पाउने सम्भावना छ।

सभापति देउवाले आफूहरुलाई पेलेरै अगाडि बढ्ने संभावना रहेको सुइँको पाएको इतर समूहले आफ्नो अलग्गै रणनीति बनाउन थालेको छ। केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका डा. शेखर कोइरालाले अहिले कै अवस्थामा कांग्रेस ठूलो पार्टी बन्यो भने त्यसले पार्टीलाई फाइदा नहुने र कांग्रेस नेतृत्वमा सरकार बन्दासमेत देशले निकास नपाउने निष्कर्ष निकालेका छन्।

कांग्रेसको भागमा कम सिट पर्दा आफू पक्षीय नेताले टिकट नपाउने त्रास कोइराला समूहमा छ।

कमेन्ट्स
Loading...