सुचना, समाचार र मनोरन्जन
Tiger Cup

संघ र स्थानीय सरकारलाई सशक्त बनाए प्रदेशको जरुरत छैन: लिङ्देन

महोत्तरी/

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूहमा पारेको आरोप लगाएका छन्। ०४६ सालको राजनैतिक परिवर्तनपछि मुठ्ठीभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ।

शनिबार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए।

वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ। तर, हस्तक्षेप स्वीकार्य छैन।’ राजालाई अर्बौँ रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अर्ब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले दाबी गरे।

यो व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसको संरक्षणकर्ता पनि नेताहरू रहेको बताए। ‘सामान्य जागिर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्रो मान्छ,’ उनले भने। उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए।

संघ र स्थानीय सरकारलाई सशक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनको सुझाब छ। वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे।

नेपाली राजनीतिको तीन दशकलाई सम्झदै नेपाली जनताले सबै दललाई अवसर दिए पनि नेताहरूले पैसा कमाउने थलो मात्र बनाएको उनको टिप्पणी छ। शेरबहादुर देउवा ६ पटकसम्म प्रधानमन्त्री भएको उदाहरण दिँदै परिवर्तनको नाममा केही पनि नभएको अध्यक्ष लिङ्देनको भनाइ छ।

कमेन्ट्स
Loading...