काठमाडौँ/
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन। शुक्रवार काठमाडौँमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने उनको भनाइ छ। उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरूलाई जिताउन आग्रह गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ। जसको राजनीतिक एजेण्डाहरू आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरूको उजागर हो। यो नेकपा एमालेले लिड गरेको पोलिटिकल पोल र एजेण्डाहरू हुन्। अर्कोतर्फ गठबन्धन छ। यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन। जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन, कार्यक्रम छैन, गन्तव्य छैन( त्यो गठबन्धनको नामले चिनिएको छ। राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो। त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ। यही बेलामा हामीले आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्ने बारेमा नेपाली जनताले फैसला गर्नेछन्। राज्यका अंगहरू कसरी प्यारालाइसिस हुँदैछन्, हामी हेर्दैछौँ। अदालतको हालत यस्तो छ। कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरूको अवस्था के छ सबै बुझेका छौँ। विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ।’
उनले तथ्यभन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको पनि बताए। अहिले देशको विद्रुप रूप देखा परिरहेको उनको भनाइ छ।
