सुचना, समाचार र मनोरन्जन

गुल्मीमा कालिज फार्ममा पसेको चितुवाको उद्धार

गुल्मी/

गुल्मीको रेसुङ्गा नगरपालिकामा कालिज फार्मभित्र छिरेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । रेसुङ्गा नगरपालिका १० का स्थानीयवासी हुमाकान्त अर्यालको कालिज फार्ममा पसेको चितुवालाई शुक्रवार नियन्त्रणमा लिइ उद्धार गरिएको हो ।

नियन्त्रणमा लिइएको चितुवाको तौल १८ किलो रहेको छ । चितुवा शुक्रवार बिहान सौगात अर्गानिक कृषि फार्मभित्र पसेको अवस्थामा भेटिएको थियो । फार्मभित्र पसेको चितुवाले एक सय ५० वटा कालिज मारेको डिभिजन वन कार्यालय गुल्मीमा प्रमुख प्रभात सापकोटाले बताए ।

जालीको सानो प्वालबाट चितुवा फार्ममा पसेको थियो । बिहान कुखुरालाई पानी खुवाउन जाने क्रममा फार्मभित्र चितुवा पसेको देखेपछि फार्म सञ्चालक अर्यालले प्रहरीमा खबर गरेका थिए । फार्मभित्र छिरेको चितुवा बाहिर निस्कन प्रयत्न गर्दा चितुवाको टाउकोमा चोट लागको छ । घाइते अवस्थामा चितुवालाई नियन्त्रणमा लिइ उद्धार गरिएको सहायक वन अधिकृत मुना शर्माले बताए ।

नियन्त्रणमा लिइ उद्धार गरिएको चितुवालाई जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा राखिएको छ । उद्धार गरिएको चितुवालाई आज राति नै रेसुङ्गा वन क्षेत्रमा लगेर छाडिने डिभिजन प्रमुख सापकोटाले जानकारी दिए । गएको तीन हप्ताअघि रेसुङ्गाको निनीचौरमा कुखुराको फार्मभित्र चितुवा पसेको थियो ।

कमेन्ट्स
Loading...