काठमाडौँ /
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्।
दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’
हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो ।’
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’