सुचना, समाचार र मनोरन्जन
Election Commission V2

स्थानीय तहका पाठ्यक्रम कार्यान्वयनमा साभ नेपालको सहजीकरण

पोखरा/

नेपालमा २०४९ सालदेखि स्थानीय पाठ्यक्रमको अवधारणा प्रारम्भ भएको भए पनि अहिलेसम्म धेरै स्थानीय तहहरु यस विषयमा बेखबर छन् । स्थानीय स्तरमा सक्षम जनशक्तिको अभाव र यसको महत्वलाई नबुझेर पनि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनजस्तो गम्भीर विषयलाई धेरैले महत्व नदिएको पाइएको छ । स्थानीय तहहरुका कामलाई सहज बनाउँदै समाजका जल्दाबल्दा विषयहरूसँग सम्बद्ध सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पुर्याउने उद्देश्यले साभ नेपाल (SAAV Nepal)नामक संस्थाले पोखरामा आफ्नो कार्यालय स्थापना गरी काम गरिरहेको छ ।


आ–आफ्नो क्षेत्रमा स्थापित परिचय बनाइसक्नुभएका विज्ञहरूलाई साथमा लिएर स्थापना गरिएको यस संस्थामार्फत नेपालका सबै जातजातिका मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न अनुसन्धानका कामहरु गर्नुका साथसाथै नेपालको संविधान २०७२, पन्ध्रौँयोजनाको अवधारणा पत्र, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७५ लगायतका विकास प्रक्रियाहरुको परिधिभित्र रहेर स्थानीय तहको पाठ्यक्रम तयार गरी सोही पाठ्यक्रमअनुसारका आधारभूत तहका सबै कक्षाका पाठ्यपुस्तकहरु लेखन तथा प्रकाशन गरी सम्बन्धित शिक्षकहरुलाई तालिम समेत प्रदान गरेर स्थानीय तहका धेरै विद्यालयहरुमा पठनपाठनका लागि सहजीकरण गरिरहेको छ ।

स्थानीय तहको पहिचान गराई समाजको आवश्यकताअनुसारको शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने उद्येश्यका साथ स्थानीय तहलाई सघाउनका लागि थालिएको यस प्रयासमा धेरै जनप्रतिनिधि, समाजसेवी र सचेत व्यक्तित्वबाट प्रेरणादायी सहयोग मिलिरहेको भनाइ साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनालले बताए । यस अभियानमा स्थानीय तहहरुले आर्थिक, बौद्धिक तथा नैतिक रूपमा सहयोग गरी उपयुक्त वातावरणको सिर्जना गरी प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।

स्याङ्जाका भीरकोट, फेदीखोला, कालीगण्डकी र बिरुवा पालिकाबाट एकसाथ काम सुरु गरेको साभ नेपालले यी पालिकामा एकसाथ आधारभूत तह (कक्षा१–८) को पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक समेत तयार गरेर सबै विद्यालयहरुमा कार्यान्वयन गर्न सहजीकरण गरेको थियो ।


स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा साभ नेपालले सम्बन्धित पालिकाका विज्ञहरु र लेखकहरुलाई नै साथमा लिएर काम गरिरहेको छ । यस सम्बन्धमा अध्यक्ष डा.प्रभासले भन्नुभयो – ‘‘स्थानीय पाठ्यक्रम स्थानीय विज्ञहरुले नै निर्माण गर्ने हो । स्थानीयका चाहना र भावनाहरुलाई सहजीकरण गर्ने काममात्र साभ नेपालले गरेको हो ।

नीतिश्लोकमा भनिएको छ –
‘‘अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।’’

त्यही दुर्लभ योजकको आवश्यकताको पूर्ति साभ नेपालले गरेको हो । यी पाठ्यपुस्तक तयारीका लागि साभ नेपालले दक्ष र व्यावसायिक लेखकहरू चयन गरेको छ । ती सबै लेखकहरूले पाठ्यक्रमको गहन अध्ययन गरी सोही अनुसारको अनुसन्धान गरेर मात्र लेखन सुरु गर्दछ । अनुसन्धानका क्रममा स्थानीय पालिकाका सबैै वडाका हरेक टोल, बस्ती र विद्यालयहरूमा पुगेर तथ्य सङ्कलन गरिन्छ । सो क्रममा हरेक वडाबाट प्रतिनिधि शिक्षकहरू पनि चयन गरिन्छ । साथमा पाठ्यक्रम निर्माण सहजीकरण समिति र पाठ्यक्रम मस्यौदा लेखन समितिसँग पनि पटकपटक बैठक तथा भेला गरी उनीहरुकै सुझावका आधारमा लेखन कार्य गरिन्छ । लेखन सम्पन्न भैसकेपछि पनि विभिन्न चरणमा स्थानीय विज्ञहरूसँग छलफल गरेरमात्र पाठ्यपुस्तकहरू छपाइका लागि तयार गरिन्छ ।’’

स्याङ्जाबाट सुरु भएको यो अभियान हाल कास्की, तनहुँ, बाग्लुङ, नवलपरासी, रुपन्देही, गुल्मी लगायतका जिल्लाहरुमा विस्तार भएको छ । हालसम्म ३६ वटा स्थानीय तहले साभ नेपालकै पहलमा स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन्।
स्थानीय पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरु विद्यालयमा पुगेपछि विद्यार्थी तथा शिक्षकहरु अत्यन्तै खुसी भएको र खाली समयमा पनि यही पुस्तक पढेर बस्ने गरेको कुरा भीरकोटकी एक शिक्षिकाले बताए । त्यसैगरी घरमा पनि अभिभावकहरुले फूर्सदको समयमा आफ्नै गाउँठाउँका सम्पदाहरु समेटिएको पुस्तक पढेर बस्ने गरेको कुरा कालीगण्डकीका एक अभिभावकले बताए ।


नगरपालिकाका सबै विषयक्षेत्र समेटेर कक्षा १ देखि आठसम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक एकसाथ लागू गरेको नेपालकै पहिलो नगरपालिका भीरकोटका निवर्तमान नगरप्रमुख छायाराम खनालले भने– ‘‘मेरो पाँच वर्षे कार्यकालमा मलाई सबैभन्दा सन्तुष्टि मिलेको काम स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयनको काम हो । आज पनि बालबालिकाको हातमा ‘‘हाम्रो भीरकोट’’ नामक स्थानीय पाठ्यपुस्तक देख्दा खुसी लाग्छ ।’’

‘‘बालबालिका राष्ट्रका जीवन, स्वस्थ समाजका लागि स्वस्थ बाल मन ।’’ नामक उद्गारलाई आफ्नो मुख्य मन्त्र बनाएर काम गरिरहेको साभ नेपाल ‘‘शिक्षकका हातमा पाठ्यक्रम र विद्यार्थीका हातमा पाठ्यपुस्तक’’ पु¥याउने अभियानमा जुटिरहेको छ । न्यूनतम खर्चमा उच्चतम विज्ञहरुलाई साथमा लिएर काम गरिरहेको साभ नेपालका अध्यक्ष डा. प्रभास भन्नुहुन्छ– ‘‘पहिला आफ्नो माटो चिनौँ, अनि बल्ल संसार चिनौँ ।’’

कमेन्ट्स
Loading...