सुचना, समाचार र मनोरन्जन
Election Commission V2

निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर विषाक्त

काठमाडौँ/

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजरमा विषाक्त केमिकलको मात्रा अत्यधिक रहेको भन्दै यसको प्रयोग नगर्न औषधी व्यवस्था विभागले कडा निर्देशन दिएको छ । स्यानिटाइजरको सम्बन्धमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले बनाएको मापदपण्ड विपरीत पाइएको भन्दै औषधी व्यवस्था विभागले ती स्यानिटाइजरको प्रयोग नगर्न कडा चेतावनी दिएको हो ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा प्रयोगका लागि भन्दै ५ सय एमएलको १० थानका दरले प्रत्येक मतदान केन्द्रमा ५ लिटरका दरले स्यानिटाइजर वितरण गर्ने तयारी गरेको थियो । सोही तयारी अनुसार स्थानका मतदान केन्द्रमा ती स्यानिटाइजरहरू पठाइसकिएको थियो भने काठमाडौँकै कतिपय मतदान केन्द्रमा स्यानिटाइजर पुगिसकेको थियो ।

तर मंगलबार साँझ एकाएक निर्वाचन आयोगले आफ्नो सिस्टममार्फत् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमस पठाएर आयोगले पठाएको स्यानिटाइजर प्रयोग नगर्न सूचित गर्दै स्यानिटाइजर आयोगमै फिर्ता पठाउन आग्रहसमेत गर्‍यो । निर्वाचनको मितिभन्दा ४ दिन अगाडि मात्रै पठाइएको उक्त एसएमएसमा स्यानिटाइजर प्राविधिक परीक्षणअनुसार उक्त स्यानिटाइजर योग्य नदेखिएको उल्लेख गरिएको थियो ।

बुधबार बिहान अर्थात् कात्तिक ३० गते मात्रै औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै ग्लोबल हेल्थकेयर, कुञ्जपुरा, कर्नाल, भारतको उत्पादन रहेको जिएचसी ह्याण्ड स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक पाइएको भन्दै उक्त स्यानिटाइजरको विक्री वितरण बन्द गर्न र बजारमा गइसकेको भए पनि फिर्ता लिन सूचित गरिएको थियो । विभागको सूचनामा उक्त कम्पनीको ब्याच नम्बर ऋब्च्भ्(ज्ञज्ञ(द्दद्द(म्भ्ऋ, द्दण्द्दद्ध र उत्पादन मिति जनवरी २०२२ अर्थात् एक्सपायर मिति डिसेम्बर २०२४ रहेको ५०० एमएलको स्यानिटाइजरमा कैफियत पाइएको बताएको छ । स्मरणीय के छ भने यो त्यही स्यानिटाइजर हो, जुन स्यानिटाइजर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाट खरिद गरेको थियो र मतदान केन्द्रहरूमा पठाएको थियो ।

कमेन्ट्स
Loading...