सुचना, समाचार र मनोरन्जन

पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि चार स्थानीय तह छनोट

कञ्चनपुर /

पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि चार वटा पालिकाका पर्यटकीय क्षेत्र छनोटमा परेका छन्। बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिका पर्यटकीय क्षेत्र भौतिक पूर्वाधार निर्माणका लागि छनोटमा परेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने भएको हो।

बेदकोट–४ स्थित लिङ्गेश्वर पर्यटकीय क्षेत्रको साँस्कृतिक पुरातत्विक तथा पर्यटकीय महत्वका पूर्वाधार निर्माणका लागि मन्त्रालयले रु सात करोड बजेटको व्यवस्था गरेको नगरप्रमुख अशोककुमार चन्दले बताए। उनका अनुसार मन्त्रालयको रु चार करोड ५५ लाख र नगरपालिकाको रु दुई करोड ४५ लाखमा पर्यटकीय क्षेत्रमा पर्यटकको सुविधाका लागि भौतिक पूर्वाधार विकासको कार्य गरिने छ।

लिङ्गेश्वर क्षेत्र पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको छ। पहाडको चिरिएका थुम्कोलाई हेर्नका लागि आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटक पुग्ने गर्दछन्। मन्त्रालयले कृष्णपुरमा रहेको गविजुला सामुदायिक वनमा साझेदारीमा इकोपार्क निर्माण गर्ने भएको छ।

इकोपार्क निर्माणका लागि मन्त्रालयले रु दुई करोड ४० लाख र नगरपालिकाले रु एक करोड २८ लाख व्यहोर्ने गरी रु तीन करोड ६८ लाख रकम विनियोजन गरेको छ। गडबिजुला सामुदायिक वन त्यस क्षेत्रमा रहेको प्राकृतिक ताल र विशिष्ट प्रकारको जैविक विविधताका कारण परिचित रहेको छ।इकोपार्क निर्माणको काम दुई वर्षभित्रै पूरा गर्नुपर्ने छ।

यसैगरी भीमदत्तमा इकोपार्क निर्माणका लागि मन्त्रालयले रु चार करोड ५० लाख र नगरपालिकाले रु दुई करोड ५० लाखको साझेदारी गर्ने भएका छन्। लालझाडी गाउँपालिकामा समेत मन्त्रालयको रु तीन करोड ४९ लाख र गाउँपालिकाको रु एक करोड ४९ लाख गरी रु चार करोड ९८ लाखको लागतमा पार्क ९उद्यान० निर्माण गरिनेछ। उद्यान निर्माणका लागि एक वर्षको समयसीमा निर्धारण गरिएको छ।

मन्त्रालयले देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी बजेटको व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २७ पर्यटकीय गन्तव्य पूर्वाधार निर्माणका लागि छनोटमा परेका छन्।  -रासस

कमेन्ट्स
Loading...