सुचना, समाचार र मनोरन्जन

गठबन्धनमा बढ्दो अविश्वास

काठमाडौं /

माघ ११ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनपछि सत्ता गठबन्धनमा अविस्वास बढ्दै गएको छ। कोशी प्रदेशमा माओवादी उम्मेदवार पराजित बनेपछि कांग्रेसले धोका दिएको भन्दै माओवादीका केही नेताहरुले गठबन्धनप्रति समीक्षा गर्नुपर्ने बताउन थालेका छन्।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले पनि कोशीका फ्लोर क्रस हुनु गम्भीर चिन्ताको विषय भएको निष्कर्ष निकालेको छ। बैठकमा गठबन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको नेताहरुले बताएपनि माओवादीभित्र आफूहरुले बारम्बार धोका पाएको भन्दै गठबन्धनका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवाज बलियो हुँदै गएको छ।

मंगलबार बसेको गठबन्धनको बैठकमा गठबन्धनभित्रको असन्तुष्टिका विषयमा पनि छलफल भएको थियो। सत्ता गठबन्धनमा सहभागी जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको विषयमा छलफल भएको थियो।

सरकारमै बसेर सरकारको विरोध गरेपछि जनमतलाई संघीय सरकारबाटसमेत निकाल्नपर्ने जसपा नेताहरुले प्रधानमन्त्रीसँग माग गरेको छ। यो विषयमा छलफल भएपनि ठोस निष्कर्ष भने ननिस्किएको नेताहरुले बताएका छन्।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवाद केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। कांग्रेसभित्रको असन्तुष्टिका कारण उनले पराजय भोग्नुपरेको थियो। कोशीका मुख्यमन्त्री केदार कार्कीका कारण माओवादीले धोखा पाएको माओवादी केन्द्रको निष्कर्ष रहेको छ।

यसअघि सत्तारूढ गठबन्धनले कोशीमा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। तर, कांग्रेसभित्रका असन्तुष्ट नेताहरू उनलाई रोक्दै एमालेको सहयोगमा कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भए। कोशीमा माओवादीले यसअघि समेत राष्ट्रिय सभा निर्वाचनमा धोखा पाएको भन्दै माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट रहेको छ।

यद्यपि राष्ट्रियसभा निर्वाचनपनि राष्ट्रियसभामा दलीय हैसियतपनि फेरिएको छ। यो परिणामपछि एमाले राष्ट्रियसभामा पहिलोबाट तेस्रो दलमा झरेको बनको छ भने माओवादी सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेस दोस्रो दल बनेको छ।

राष्ट्रिय सभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सासद छन्। आगामी फागुन २१ मा ३ जना माओवादी सांसदको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन्।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेससहितका दलसँग गठबन्धन गर्दा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जम्मा ३२ स्थानमा जितेर माओवादी तेस्रो भएको थियो। सोही निर्वाचनबाट प्रतिनिधि सभामा पहिलो दल बनेको कांग्रेस हाल राष्ट्रिय सभामा १० सासदसहित तेस्रो स्थानमा थियो।

फागन २१ बाट कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा निर्वाचनबाट १० थपिँदा १६ जना पुगेसँगै अब दोस्रो स्थानमा पुग्नेछ। निर्वाचनमार्फत २ सिट जितको एकीकृत समाजवादीका राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुनेछ।

राष्ट्रिय सभामा पाँचौं दलकै हैसियतमा रहेको जसपाका तीन सांसद छन्। १९ सिटको मत परिणामले राष्ट्रिय सभाको पहिलो दल एमाललाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। कोशी प्रदेशमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमाले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ।

हाल राष्ट्रिय सभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ। आगामी फागुन २० गते पदमुक्त हुने सांसदमा १९ निर्वाचितमध्ये एक स्वतन्त्र छन् भने एक मनोनित छन्। कोशीमा सत्ताधारी र सरकार बाहिरका गठबन्धनबीचअपेक्षा विपरीतको परिणाम आएको हो। दुवै गठबन्धनमा धोका भएको छ।

सत्ताधारी गठबन्धनमा कांग्रेसले माओवादीलाई र प्रतिपक्ष गठबन्धनमा एमालेले राप्रपालाई धोका दिएको आरोप लागेको छ। सत्ता गठबन्धनमा कांग्रेसका कृष्ण सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भइन्।

त्यस्तै प्रतिपक्ष गठबन्धनमा एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए। सिटौलाले ५ हजार २९२ मतभार ल्याउँदा कार्कीले ४ हजार ९९२ मतभार ल्याइन्।

त्यस्तै कोइरालाले ५ हजार ८६ मतभार ल्याउँदा पौडेलले ४ हजार ५२६ मतभार मात्रै पाए। कोशीमा सत्ताधारी गठबन्धनको स्पष्ट बहमत भएर पनि भोट क्रस भयो।

एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माआवादीको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ मतभार थियो। सत्ता गठबन्धनको ५ हजार ४३६ मतभार थियो भने एमाले-राप्रपा गठबन्धनको ४ हजार ६४२ थियो।

तर पौडेलले ४ हजार ५२६ मतभार मात्रै प्राप्त गरे। राप्रपाले यसलाई धोका भनेको छ। राप्रपा पवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एमालेले उम्मेदवारी दिने बेलादेखि नै ‘राजनीतिक बेइमानी’ गरेको प्रतिक्रिया दिएका छन्। उनले एमालेले यसैगरी आफूहरुलाई पटक पटक धोका दिएको उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.