पोखरा /
पोखरामा सोमबारबाट अन्तर्राष्ट्रियस्तरको आइटिएफ जे–५ टेनिस NEPAL ITF JUNIORS(U18) WORLD RANKING TENNIS CHAMPIONSHIP GRADE-5 CIRCUIT 1&2 सुरु हुने भएको छ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने उक्त प्रतियोगितामा १० देशका व्याइज र गर्ल्सतर्फ गरी १२८ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । उक्त प्रतियोगिता बारे जानकारी गराउँदै नेपाल टेनिस संघका केन्द्रिय सदस्य एवं प्रतियोगिताका डाइरेक्टर अजय विष्टले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाए ।
मंसिर २४ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष मुनि व्याइजतर्फ चाईनिज ताईपेईबाट ५ जना, दक्षिण कोरीयाबाट १० जना, नेपालबाट ८ जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना, जापानबाट ३ जना ,श्रीलंकाबाट २ जना र अष्ट्रेलियाबाट २ जना गरी जम्मा ६४ जना खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन ।
त्यसै गरी गर्ल्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरीकाबाट २ जना, दक्षिण कोरीयाबाट ६ जना, ताइपेबाट ३ जना, हङकङबाट १, अष्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना गल्र्स खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
पोखरामा पछिल्लो ४ वर्ष संचालित भईसकेको उक्त प्रतियोगितामा ब्वाइज सिंगल्स र डवल्स साथै गर्ल्स सिंगल्स र डवल्स ईभेण्टहरुमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा शनिवार र आईतवार क्वाईलिफाईङ राउण्ड सुरु हुने र सोमबार देखि मुख्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सिंगल्स तर्फ विजेताले ३० पोईण्ट, रनरअपले १८ पोईण्ट, सेकेण्ड रनरअपले ९ पोईण्ट, क्वाटर फाईनलिष्टले ५ पोईण्ट र फस्ट राउण्ड जित्नेले २ पोईण्ट पाउनेछन भने डवल्स प्रतियोगिता तर्फ सिंगल्स प्रतियोगितामा पाउने पोईण्टको २५ प्रतिशत मात्र अर्थात विजेताले ७ पोईण्ट, रनरअपले ४.५ पोईण्ट, सेकेण्ड रनरअपले २.२५ पोईण्ट, क्वाटर फाईनलिष्टले १.२५ पोईण्ट पाउनेछन । खेलाडीहरुको प्राप्त गर्ने पोइन्ट वर्ल्ड र् याकिङमा जोडिने छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख खर्च हुने छ भने आम्दानीतर्फ करिव २० लाख हुने अनुमान कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिएका छन् । पोखरा महानगरको प्रवर्द्धनमा हुने प्रतियोगिताका लागि महानगरले ५ लाख सहयोग गर्ने बास्तोलाले बताए । “हामीले गत वर्ष समेत कििरव ४६ हजार घाटा व्यहोरेका छौं । राज्यको सहयोग विना अन्तर्राष्ट्रिय प्रतियोगिता असम्भव जस्तै छ । तर पनि पोखराको टेनिस विकासका लागि यो महत्वपूर्ण छ ।” यसै गरी पोखराको माउन्ट कैलाशले १ लाख ५० हजार र ट्रेकस इनले १ लाख नगद सहयोग गरेका छन् ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्न उनले आग्रह गरेका छन् । “यो टेनिस संघको मात्रै कार्यक्रम होइन यो सबै पोखरेलीहरुको हो । यो प्रतियोगिताले खेलकुद पर्यटन प्रवर्द्धन गर्न सहयोग गरेको छ ।” करिव दुई साता प्रतियोगिता अवधिभर एक जना खेलाडी सहित अभिभावक र प्रशिक्षक समेत पोखरामा बस्ने अध्यक्ष गुरुङले बताए । खेलाडी सहित करिव झण्डै ४ सय जना पोखरामा बस्नेछन् ।
उक्त प्रतियोगितामा गर्ल्सतर्फ आइटिएफ जे–५ नं १ सिडिङ खेलाडी सर्भानी श्रेष्ठको सहभागिता हुनेछ भने व्याइजतर्फ पोखराका नेहाल जङ थापा, दर्शिल श्रेष्ठ र सिर्जन भट्टराईको सहभागिता हुनेछ । पोखराकी श्रेया भट्टराईले सहभागिता जनाउने आयोजकले जनाएको छ ।