सुचना, समाचार र मनोरन्जन
Tiger Cup

खेलकुद परिषद गण्डकीद्वारा नवौं राष्ट्रिय खेलकुदमा सहभागीहरु नगद सहित सम्मानित

पोखरा/

प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघसंस्थाहरु नगद सहित सम्मान गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश मध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागिय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो ।

प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना खेलाडीलाई सम्मान गरेको छ । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित भएका छन् ।

असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरेको छ ।

त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद रु ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता संघलाई नगद रु २० हजार प्रदान गरेको छ ।

त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरेको छ ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दिपक बानियाँ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेताहरुलाई सम्मान गरेका थिए ।

सो अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो भने नवौं राष्ट्रिय खेलकुदमा स्वयसेवी भूमिकामा रहेर महत्वपूर्ण योगदान दिने विष्णु बहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

कमेन्ट्स
Loading...