पोखरा /
‘क्यानभासमा बाल मनोविज्ञान’ गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ हुने भएको छ ।
इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ हुने भएको हुने भएको हो । प्रतियोगिता २ चरणमा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । जसको लागि पहिलो चरणमा प्रतियोगितामा सहभागी हुन प्रतियोगीले थिएटरको वेबसाइटमा आफ्नो चित्र दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगीले यही फागुन २५ गतेसम्म दर्ता गर्नुपर्ने छ । त्यसपश्चात् प्रथम चरणमा पठाइएको चित्रबाट आयोजकले उत्कृष्ट १० जना प्रतियोगी छनौट गर्ने लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका अध्यक्ष सुनिल कुमार ठाकुरले बताएका छन् ।
पहिलो चरणमा छानिएका उत्कृष्ट १० प्रतियोगीले दोस्रो चरणमा कार्यक्रम स्थलमा चित्र कोर्न लगाउने आयोजकको भनाई छ । जसबाट निर्णयकले मुल्यांकन गरेर विजेता रोजिनेछ । त्यस्तै चित्रकलाको प्रथम चरण ‘बाल अधिकार’ समाज निर्माणको आधारमा र दोस्रो चरणमा ‘वातावरण–जीवनको आधारशील’ विषयमा केन्द्रित रहनुपर्ने छ । प्रतियोगितामा प्रथम पुरस्कार ९ हजार, दित्तीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार १ हजार रहेको आयोजकले जनाएको छ ।