सुचना, समाचार र मनोरन्जन

सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौतापत्र हस्ताक्षर

पोखरा/
गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय बीच सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्र हस्थाक्षर कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री सीता सुन्दासले प्राविधिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरिन् । उनले गण्डकी विश्वविद्यालयले विद्यार्थीका रुचीअनुसारको विषयलाई समेट्दै अगाडि बढ्नुपर्ने धारणा प्रस्तुत गरिन् । गण्डकी विश्वविद्यालयलाई सफल बनाउन स्रोत साधनले भ्याएसम्म प्रदेश सरकारको समेत सहयोग रहने प्रतिबद्धता उनको छ ।

राज्यको ध्यान नपुगेको विषयवस्तुहरुलाई आत्मसात् गर्दैै गण्डकी र काठमाडौं विश्वविद्यालय अगाडि बढेको देख्दा खुशी लागेको उनले बताइन् ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा।गणेशमान गुरुङले गण्डकी प्रदेशमा खानीहरुको प्रचुर सम्भावना रहेको उल्लेख गरे । जसका लागि विश्वविद्यालयमा माइनिङ इन्जिनियरिङको आवश्यकता परेकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै दक्ष जनशक्ति उत्पादनमा लाग्ने उद्देश्य रहेको अभिव्यक्ति उनको छ । ‘गण्डकी विश्वविद्यालयमा अब माइनिङ इन्जिनियरिङको पनि पढाई हुनेछ भन्ने खबर सुनाउन पाउँदा खुशी छौं । माइनिङ इन्जिनियरिङ आजको आवश्यकता हो । गण्डकी प्रदेशमा खानीको प्रचुर सम्भावना भएकाले यसको उत्खनन्का लागि पनि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । जस विषयमा अध्यापन नै गराई हामी उत्पादन तर्फ लाग्नेछौं ।’, उनले भने ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले नेपालमा अहिलेसम्म गिटी र बालुवाको मात्रै योजना बनेको बताए । अध्ययन बिनानै यस्ता प्रकारको योजना बन्दा समस्या भोग्नुपरेको अभिव्यक्ति उनको छ । नेपालमा माइनिङ इन्जिनियरिङमा दक्ष जनशक्तिको अभावले समस्या हुने गरेको उनले बताएका छन् । जसलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप काठमाडौं विश्वविद्यालय लागेको र अब गण्डकी विश्वविद्यालयसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने जानकारी उनले गराएका छन् । ‘हामीलाई खुशी छ । खानीको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा रहेको गण्डकी विश्वविद्यालयसँग सहकार्य गर्दै माइनिङ इन्जिनियरिङको विषयलाई प्रभावकारी रुपमा संचालन गर्न पाउनेछौं ।’, उनले भने ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा नवराज देवकोटा, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा मनिष पोखरेल, गण्डकी विश्वविद्यालयका डिन डा।कपिल अधिकारी लगायतको उपस्थिति थियो ।

कमेन्ट्स
Loading...