सुचना, समाचार र मनोरन्जन
Tiger Cup

पोखरेली मञ्च युकेकी मञ्जुलाई मञ्चद्वारा स्वागत

पोखरा /

पोखरेली मञ्च युकेकी कार्यसमिति सदस्य मञ्जु गुरुङ राई लाई आज पोखरामा स्वागत गरिएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले मञ्जुलाई एक कार्यक्रममा स्वागत गरेको हो । उनलाई मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका सल्लाहकार महेश गुरुङ, महासचिव कृष्ण तिमिल्सिना, कोषाध्यक्ष महेश पौडेलले स्वागत गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर समेत रहेको पोखरेली मञ्च यूकेले विगत चार वर्ष देखि निरन्तर रुपमा म्याराथनको विकास एवं प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पोखरेली मञ्चको तर्फबाट पोखरा म्याराथन सफल बनाउन संयोजक समेत रहेकी मञ्जुले संयोजकको भूमिका निर्वाह गर्दै आएकी छन् ।

पोखरा म्याराथन सफल बनाउन युकेका नेपालीहरु निकै उत्साहित रहेको मञ्जुले बताइन् । उनले भनिन्–“पोखरा म्याराथनमा आउन युके नेपाली युवा लगायत आमा समुह समेत निकै उत्साहित हुनुहुन्छ । हामीले उहाँहरुलाई पोखरा आउन निम्तो बाँडिरहेका मात्रै छैनौ सहयोगका लागि आग्रह गरिरहेका छौं ।”

भलिबलकी पूर्व राष्ट्रिय खेलाडी समेत रहेकी मञ्जु आफै पनि क्यान्सर जस्तो रोगलाई जितेर सामाजिक र खेलकुद अभियानमा कृयाशिल छिन् । उनले १४ औं पोखरा म्याराथनमा क्यान्सर पिडितहरुको सहयोगार्थ च्यारिटीमार्फत सहयोग संकलन गर्न १० किलोमिटर दौडमा सहभागिता समेत जनाएकी थिइन् ।

तमु धिं युकेको टोली संग नेपाल आएकी उनले पोखरा म्याराथनका लागि युकेबाट ४० जना भन्दा बढिको समुह पोखरा आउने तयारी गरिरहेको जानकारी समेत दिइन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गतृे शनिबार आयोजना हुँदैछ । पोखरा म्याराथन नेपालकै जेठो म्याराथन समेत हो । यस पटक पोखरा म्याराथनको विजेता धावकले नगद ५ लाख प्राप्त गर्नेछ । उक्त पुरस्कार राशी समेत हाल सम्मकै सर्वाधिक हो ।

कमेन्ट्स
Loading...