काठमाडौं /
निजी क्षेत्रलाई पोष्ने काम गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरेको छ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि आज बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।
विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने बताए ।
सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने षडयन्त्र रचिएको भन्दै शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको बताए ।
निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने विद्यार्थी नेताको तर्क छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए। मन्त्री नियुक्त भएको एक महिना नबित्दै उनको पुत्ला दहन भएको हो।