सुचना, समाचार र मनोरन्जन

वैदेशिक रोजगारीमा जाने श्रमिकको छुट्टै लाइन हट्यो

काठमाडौँ/

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयको निर्देशनपछि विमानस्थलमा राखिने गरेको छुट्टै लाइन हटाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि छुट्टै डेस्क रहँदै आएको थियो । चौतर्फी दबाबपछि उक्त डेस्क हटाइएको थियो । डेस्क हटाइए पनि अध्यागमन चेकका लागि श्रमिकहरूका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको लागि छुट्टै लाइनको व्यवस्था गरेर उनीहरूको आत्मसम्मानमा चोट पुग्ने काम भएको बताए । त्यही आधारमा त्यो लाइन हटाउनको लागि श्रम मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्रको जवाफमा गृह मन्त्रालयले विभेद नगरी सहज रूपमा श्रमिकलाई पठाउन निर्देशन दिएको थियो । सोही आधारमा अध्यागमन चेकजाँचका लागि राखिएको छुट्टा छुट्टै लाइन हटाइएको उनको भनाई छ ।

कमेन्ट्स
Loading...