सुचना, समाचार र मनोरन्जन

अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन हुनुपर्छ: स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ/

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरुको स्वास्थ्य स्थिती पनि राम्रो भएर जान्छ । विभाग बिग्रियो भने ३ करोड नेपालीको स्वास्थ्यमा असर गर्छ,’ उनले भने,‘ बजारमा अहिले पनि गुणस्तरहिन औषधि छ्याप छ्याप्ती छन् । जनशक्ति छैन भनेर पन्छने काम हामीले गर्न हुँदैन । नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइदैंन ।’

उनले सातै प्रदेशमा कार्यालय स्थापना गरेर विभागले बजारको अनुगमन र नियमन गर्नुपर्ने बताए ।‘यसका लागि कार्ययोजना तयार गर्नुस् । कार्ययोजनासहित आउनुस । आवश्यक सहयोग मन्त्रालयले गर्नेछ ।’

उनले अत्यावश्यक औषधिहरुको उत्पादन नेपालमै हुनुपर्ने बताए । ‘पछिल्लो समय बंगलादेशले औषधि उत्पादन क्षेत्रमा ठूलो फड्को मार्‍यो । हामीले पनि कम्तिमा अत्यावश्यक औषधिहरु आफैं उत्पादन गर्न सक्नुपर्छ ।। नाकाबन्दीमा हामीले कस्तो भोग्यौं । भोलिका दिनमा त्यस्तो अवस्था नआओस्,’ उनले भने।

आठ महिना बितिसक्दा विभागले पुजॅीगत खर्चमा केवल ७ प्रतिशतमात्रै बजेट खर्च गरेको बताउँदै उनले यसमा तत्काल सुधार ल्याउन निर्देशन दिए । गुणस्तरीय औषधि, अनुगमन र नियमनमा विभागको ध्यान जानुपर्ने उनले बताए ।

कमेन्ट्स
Loading...