सुचना, समाचार र मनोरन्जन

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो

पोखरा /

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो ।

महिना भरि विभिन्न चेतनात्मक कार्यक्रम गरिएको महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । महिनाभरि समन्वयात्मक, चेतनात्मक र जानकारी मूलक विभिन्न कार्यक्रमहरू गरिएका उहाँले बताउनुभयो । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै स्वास्थ्य प्रवर्द्धनका गतिविधिहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

महानगर स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले महानगर भित्र आयोडिनको कमीका कारण आउन सक्ने स्वास्थ्य जोखिमहरूको न्यूनीकरणका लागि प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भिमा पौडेलले स्वास्थ्य सचेतना अभिवृद्धिमा महिला स्वास्थ्य स्वयसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । साल्ट ट्रेडिङ गण्डकीका निर्देशक सागर शेरचनले मानव स्वास्थ्यका लागि आयोडिनको सेवन अनिवार्य र अत्यावश्यक रहेको बताउनुभयो ।

छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, गुरुकुल माविका प्रधानाध्यापक नारायण आचार्य र पुष्प सदन माविका प्रधानाध्यापक शिवलाल रिमालले विद्यालय तहदेखि नै यसको महत्वलाई बुझाउन स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । जंकफुडहरुको अत्यधिक प्रयोगले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गरेको बताउँदै प्रध्यानाध्यापकहरुले यसको निषेधका लागि पोखरा महानगरपालिकाले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रममा फोकल पर्सन सत्यराज साखीले नेपाल सरकारको पोषण कार्यक्रम अन्तरगत पहिलो प्राथमिकतामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो । मानव स्वास्थ्यका लागि पोषणको मात्रा पुरा गराउने सन्दर्भमा विभिन्न खाले सचेतना तथा सन्देशमूलक कार्यक्रमहरू गरिएको उहाँले बताउनुभयो ।

आयोडिनको कमीका कारण गलगाँड आउने, मानसिक तथा बौद्धिक विकासमा असर पर्ने, शारीरिक अपाङ्गता हुने, पुनरुत्पादन क्षमतामा ह्रास आउने, गर्भपतन हुने र बाल तथा मातृ मृत्युदर बढ्ने लगायतका समस्याहरू देखिने गर्दछन् ।

प्रतिव्यक्ति दैनिक ५ ग्राम आयोडिन आवश्यक पर्ने भए पनि विभिन्न अध्ययनहरूले भने ११ ग्राम सम्म आवश्यक पर्ने देखाउने गरेका छन् । आयोडिन मानसिक फुर्ती र शारीरिक शक्तिका रूपमा मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ ।

Leave A Reply

Your email address will not be published.