सुचना, समाचार र मनोरन्जन

वैदेशिक रोजगारीबाट फर्किएर पर्वतका प्रेमचन्द्र भारतीले सुरु गरे गाउँमै मसला उद्योग

पर्वत/

श्रमिकका रुपमा पाँच वर्ष यूएईको दुबईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गरेका छन । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उनले २५ लाख रुपैयाँ लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ सुरु गरेका हुन ।

दुबईमा काम गर्दा सोचे जस्तो कमाइ नभएपछि स्वदेश फर्किएर उद्यमी बनेको उनको भनाइ छ । उनले आगामी दुई वर्षमा यहाँ उत्पादित वस्तुलाई विदेशसम्म पुर्‍याउने योजनाका साथ काम अघि बढाइएको बताए । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न, उत्पादनको बजारीकरण गर्नका लागि अर्ग्यानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योगको स्थापना गरिएको उनको भनाइ छ ।

उनले कोदो, मकै, बोडी, सिलाम, राज्मा, गुन्द्रुक, मस्यौरा, टीमुर, लोकल चामल, घिउलगायतका उत्पादनलाई सङ्कलन, प्रशोधन तथा प्याकेजिङ गर्दै आएका छन । उद्योगले हाल ‘गाउँले’ ब्राण्डमा फागुन १ देखि बजारमा पठाउने गरी तयारी गरेको गरेको उनको भनाइ छ ।

“स्थानीयतहमा उत्पादन भएका खाद्यान्न बजारसम्म नपुग्दा खेर जाने अवस्था थियो, बिक्री भएका उत्पादनले पनि उचित मूल्य नपाउने अवस्थालाई ध्यानमा राख्दै उद्योग स्थापना गरिएको हो”, भारतीले भने ।

पालिका तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको भनाइ छ । भारतीले सुरु गरेको उद्योगमा आवश्यक मेसिनरी उपकरण खरिदका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता ठकुरीले बताए ।

कमेन्ट्स
Loading...