सिन्धुपाल्चोक/
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन । शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।
‘शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ । समतामूलक समाज निर्माणको आधार नै शिक्षा हो’ प्रधानमन्त्रीले भने, ‘शिक्षालाई प्राथमिकता नदिईं हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । त्यसैले शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्ने भएकाले शिक्षा नै महत्वपूर्ण हो ।’
प्रधानमन्त्री प्रचण्डले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोगको अपेक्षा गरे । फरक प्रसंगमा प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै आफ्नो तेस्रो कार्यकालको जिम्मेवारी पछि मन्त्रिपरिषदको पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए ।
‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ’, प्रधानमन्त्रीको भनाइ छ ।