काठमाडौं /
मूल्य नपाएपछि किसानहरुले चितवन भरतपुरको पुलचोकमा तरकारी फालेर आन्दोलन गरेकाछन् ।
उनीहरुले तरकारी बिक्री नभएकोर बजार मूल्य नपाएको उनीहरुको गुनासो गरेका छन् । कृषक पुरन महतोले खेतमा भएका कुनै पनि तरकारीको बिक्री हुन छाडेको र मूल्य पनि नपाइएको भन्दै आन्दोलन स्वरुप बाटोमा तरकारी फालेर आन्दोलन गर्नुपरेको बताए ।
‘बजार मूल्य त पाइने अवस्था छैन नै तरकारी खेतमै सड्ने अवस्था भयो, त्यसैले आन्दोलन गरेका हौं’ किसान महतोले भने, ‘उपभोक्ताको भान्सामा सस्तो मूल्यमा पुगेको भए त चित्त बुझाउँथ्यौ तर यहाँ त न हामीले मूल्य पाउने न त उपभोक्ताले सस्तोमा पाउने अवस्था भयो ।’
भारतीय तरकारीले बजार कब्जा गरेपछि जिल्लाका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्। गोलभेँडा, काउली, बन्दा, फर्सी लगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर प्रदर्शन गरेका थिए।
विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए। उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको बताए।
स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न माग गर्दै जिल्लाका सयौं किसानहरू यहाँ भेला भएका थिए। उनीहरूले शुक्रबार छलफल गरेर थप आन्दोलनका कार्यक्रमहरू ल्याउने बताएका छन्। पहिले पनि चितवनका किसानले राम्रो मूल्य नपाएपछि सरकारको ध्यानाकर्षण गराउन अण्डा र दूध सडकमा फालेका थिए।
तस्विर कृषक पुरन महतोबाट :