पोखरा/
पोखरामा स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझ सम्पन्न भएको छ । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आईतबार पोखराको कुटी–२ रिसोर्टमा स्मृति साँझ आयोजना गरिएको हो ।
सिटीजन फर्निचर ट्रेड लिंकको प्रस्तुतीमा सम्पन्न स्मृति साँझमा पोखरेली एक दर्जन कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएर ट्रिब्यूट दिए । पोखरेली कलाकार सुमधुर स्वरकी धनी रजनी ऋदम राईले ‘यो मन त तलाउ हो ढुंगा नफ्याँक, फेर्दै छु सास बतास नछेक’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिएपछि स्मृति साँझ कार्यक्रमको शुभारम्भ भएको थियो । चिसो मौषममा दिनभरीको थकान मेट्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरेली कलाकार, साहित्यकार, पत्रकार, व्यवसायीलगायतका व्यक्तित्वले भरिएको हलमा अर्की कलाकार उषा गुरुङले ‘कालीपारे दाई कति राम्रो ढाकाटोपी काँधैमा गलबन्दी’ बोलको गीत गाएर तारादेवीलाई ट्रिब्यूट दिदा हल गुञ्जायमान भएको थियो ।
पोखरेली दम्पती कलाकार रामभक्त जोजिजु र ईतु जोजिजुले स्वरसम्राट नारायण गोपाल र अरुणा लामाले गाएको ‘जीवनका हरेक मोडहरुमा तिमीले मलाई भेट, म भागेजस्तो गर्छु तिमी बाटो छेकेजस्तो गर’ गीत गाएर चिसो मौषमलाई तताउँदा शितल थापाले ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा’ गीत गाउँदा दर्शकको मन गद्गद् भयो । लक्ष्मी गिरीले ‘घाममा पनि माया लागेको छ’ गीत गाउँदा गम्भीर बनेको माहोल कलाकार देवीमाया गुरुङ र मीलन गुरुङले ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत गाउँदा दर्शकको साथ पायो । ‘तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथेँ, आँसु झरिसकेछन् म तिनलाई पुछ्न थालेँ’ बोलको गीत अजुदा थापाले र ईतु जोजिजुले ‘पोहोर साल खुशी फाट्दा’ गीत गाउँदा गम्भीर बनेको हलको माहोललाई प्रिया गुरुङले ‘सबैले भन्थे’ बोलको गीत गाएर दिल चङ्गा बनाईन् भने पिङ्गला भट्टले‘फूललाई सोंधे कहाँ गयो कता गयो’ तथा कौशल्या गुरुङ र मीलन गुरुङले ‘ए कान्छा मलाई तारा खसाई देउन’ बोलको गीत गुञ्जाएर दिल आल्हादित बनाए ।
तारादेवीको ‘उकाली ओरालीहरुमा, भञ्ज्याङ अनि चौतारीमा, जहाँजहाँ जान्छौ तिमी म पवन बनी त्यहीँ आउनेछु’ बोलको गीत पहिलोपटक मेल भर्सनमा गाएर गायक रामभक्त जोजिजुले पोखरेली दर्शकलाई फरक स्वाद चखाए । फरक शैलीको कार्यक्रममा फरक स्वाद दिने प्रयास स्वरुप सानु जोजिजुले बाजाहरुको राजा भनेर चिनिने भ्वायलिनको सुरमा ‘यति धेरै माया दिई, मन भरि दुःख नदेउ, बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाउ’ गीत पस्किएर दर्शको मन जितिन् । अन्तिममा गायीका शीतल थापाले अरुणा लामाको ‘भेटिनु छुटिनु त संसारकै रीत हो’ गीत स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीलाई समर्पण गर्दै कार्यक्रमको बिट मारिन् ।
कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ भनेका थिए । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण भएको थियो । यस वर्षदेखि शुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ अब हरेक वर्ष आयोजना गरिने जनाइएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको स्मृति साँझ कार्यक्रमको सहयोगीका रुपमा रुपाकोट ज्योति सुनचाँदी पसल, कुटी रिसोर्ट र डिजिटल साउण्ड एण्ड भिजन रहेका थिए । त्यस्तै, हस्पिटालिटी पार्टनरमा स्काई लाउञ्ज, साउण्ड पार्टनरमा एस.के.साउण्ड एण्ड लाईट, टेलिभिजन पार्टनरमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरमा एभरेस्ट आवाज डटकम र विज्ञापन पार्टनरमा परिचय एडभर्टाईजिङ रहेका थिए ।
