पोखरा/
पोखरा महानगरपालिका-४ गैह्रापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्री पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको लक्ष्य सहित आगामी फागुन ६ गते शिवरात्री पर्वका दिन गैँहपाटनस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले जानकारी दिए ।
नारी समूहले विगतका वर्षहरुमा समेत कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा कोरोनाका कारण रोकिएको थियो । भजन प्रतियोगिताको विजेता समुहले रु ३० हजार, द्धितीयले रु २० हजार, तृतीय हुने टोलीले रु १५ हजार र सान्त्वना हुनेले रु सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नृत्य र भेषभुषामा उत्कृष्ट हुनेलाई तीन हजार पाँच सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
“सनातन धर्म, संस्कृति र सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूहरुको संरक्षणका लागि भजन प्रतियोगिता आयोजना गरेका हौँ।” अध्यक्ष कोइरालाले भने ।
पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मद्धत पुग्ने विश्वास आयोजकको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख चार हजार खर्च लाग्ने नारी समुहका कोषाध्यक्ष रचना कोइरालाले बताउनुभयो । वडा कार्यलय, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने बताइएको छ ।
विसं २०५२ मा स्थापना भएको सर्वेश्वर नारी समुहले शिवरात्री सहित तीज पर्वमा खुला प्रतियोगिता सहित महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सहित सामाजिक कार्यहरु गर्दै आएको सचिव सचिव इनु कोइरालले जानकारी दिईन ।
