पोखरा/
पाँच दशकसम्म गीत– संगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका अम्बर गरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको “अम्ब्र गुरुङ राष्ट्रिय संगीत पुरस्कार” पुरस्कार अक्षयकोष बृद्दिका लागी नमस्ते ब्याण्डले रु ७७ हजार ७ सय ७७ सहयोग गरेको छ । नमस्ते ब्याण्डको ३४ औं वार्षिक उत्सवको अवसरमा ब्याण्डका अध्यक्ष ईश्वर गुरुङले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाइ हस्तान्तरण गरे । जापानमा सन १९८९ मा जापानीज र नेपाली सदस्यहरू मिलेर नमस्ते ब्याण्ड को स्थापना भएको थियो । ब्याण्डमा ईश्वर गुरुङ लीड भोकल, मिनामी हिरोयुकी बेस गिटार, तेराकाडो लीड गिटार, गान्टा ड्रम्स, नोमुरा युमी ड्रम्स, तबलामा सुनील गुरुङ, ढोलकमा शान्तिराम रायमाझी , किबोर्डमा अयाको योकोयामा र अम्बर गुरुङ पोखरेली , तबलामा महेश के सि , बाँसुरीमा पञ्च लामा र सुरज श्रेष्ठ आवद्ध छन् ।
देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । करीब चार वर्ष अघि भेटरान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको “मेरो संगीत यात्रा” कार्यक्रम आयोजना गरेको थियो । हङकङमा आयोजित उक्त कार्यक्रमबाट वचत भएको रकम रू. ५ लाख अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो । तिन बर्ष अघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तको “सिर्जनाको घेराभित्र सरुभक्त” नामक कार्यक्रम अयोजना गरेको थियो । उक्त कार्यक्रमबाट वचत भएको रकम रू २ लाख पचास हजार पनि सोही कोशमा थपिएको थियो । उक्त कोष बृद्धिका लागि नेपथ्यले १ लाख, नेपालयले एक लाख, पलेटीले रु १ लाख र सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङले ब्यक्तिगत तर्फबाट पनि रु १ लाख सहयोग गरिसकेकाछन् । हालसम्म उक्त कोषमा करिब १८ लाख जम्मा भईसकेको छ । अझै पनि विभिन्न व्यक्ति र संघ संस्थाबाट सहयोग आउने क्रम जारीरहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति एवम् पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले बताए ।
“अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार”को राशी नगद दुई लाख रुपैया, ताम्रपत्र र दोसल्ला रहनेछ । पुरस्कार यो बर्षदेखि प्रदान गरिने छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरूभक्त श्रेष्ठ संयोजक रहेको पुरस्कार स्थापना समितिमा उक्त प्रज्ञा प्रतिष्ठानका पूर्व सदश्य सचिव तीर्थ श्रेष्ठ सहसंयोजक र सदश्यहरूमा विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोप बहादुर थापा, उषा शेरचन, अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, डा। चैतन्य अधिकारी , शिव त्रिपाठी ,मोती भुजेल (परिवारका निवर्तमान अध्यक्ष, र एम.डी. काफ्ले (परिवारका संगीत संयोजक) र पोयुसांपका अध्यक्ष उपेन्द्र पौडेल रहेकाछन् ।
नेपाली गीत–संगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १५ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङमा भएको थियो । अम्बर गुरुङको पुर्ख्यौली घर तनहुँ जिल्ला हो । संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा “नौ लाख तारा उदाए….” भन्ने अगमसिंह गिरीले रच्नुभएको गीत रेकर्ड गरेका थिए । उनी वि.सं. २०२६ मा संगीत विभागका प्रमुखका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । उनले लक्ष्मी प्रसाद देवकोटाको गीति नाटक कुन्जिनी र मुनामदनमा संगीत संयोजन गरेका थिए । उनले सत्यमोहन जोशीका चार नाटक लगायत माधव प्रसाद घिमिरेको मालतीमङ्गले नामको गीति नाटकमा समेत संगीत दिएका थिए । उनले चलचित्र मनको बाँध, जीवनरेखामा पार्श्व संगीत दिएका थिए । त्यस्तै आदिकवि भानुभक्त नामको वृतचित्रमा पनि पार्श्व संगीत र स्वर दिएका थिए ।
