सुचना, समाचार र मनोरन्जन

कर्म र कर्मको फल

कर्म भनेको ईश्वरको पूजा हो । यहाँ कर्म भन्नाले सत्कर्मलाई सम्झनुपर्छ । कर्म तीन किसिमका हुन्छन् । फलको आशा राखेर गरिने कर्मलाई सकाम कर्म भनिन्छ । फलको आशा नगरी गरिने कर्म निष्काम कर्म भनिन्छ । शास्त्रको आधार नलिएर गरिने कर्म जो भौतिकवादीहरुले गर्दछन् त्यो विकर्म हो । सत्कर्मको फल स्वर्ग प्राप्ति हो । ज्ञानले मानिस मुक्ति हुन्छ, कर्म गरेर मुक्ति हुँदैन । फलको आशा राखेर कर्म गर्ने मानिस यस संसारमा जन्म मृत्युको चक्रमा घुमिरहनु पर्दछ । कर्मको भावना पवित्र हुनुपर्दछ ।

यहाँ महात्मा र वेश्याको प्रसंग उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । कुनै गाउँमा एकजना महात्मा थिए । त्यसै गाउँको छेउमा एकजना बेश्या बस्थिन् । महात्माले भक्तजनहरुलाई जम्मा पारेर धार्मिक प्रवचन दिन्थे । प्रवचनमा सत्कर्म गर्नुपर्छ, परस्त्रीलाई आमा समान सम्झनुपर्छ, माता, पिता र गुरुलाई भगवान समान मान्नुपर्छ, परद्रव्यलाई ढुंगो समान मान्नुपर्छ भनी उपदेश दिने गर्दथे । कामवासनामा आशक्ति भएका विलासी मान्छेहरु बेश्याकोमा जाने गर्दथे । वेश्या सधै महात्माको उपदेश सुन्न जाने गर्थिन् । एकदिन महात्मालाई वेश्याको सुन्दरताले गर्दा कामवासना जागेछ र बेश्याकोमा गएछन् । वेश्याले आफ्नो घरमा महात्मालाई आएको देखेर आश्चर्य मान्दै किन पाल्नुभयो भनेर सोधिछन् । महात्माले तिम्रो रुप लावण्यलाई देखेर मलाई पनि इच्छा जाग्यो र आएँ भनेर जवाफ दिएछन् । उक्त जवाफ सुनेपछि वेश्याले ‘तपाईंको प्रवचनमा वेश्यावृत्ति पाप हो भन्नुहुन्थ्यो त्यसैले मैले त्यो वेश्याबृत्ति छोडिदिएँ’ भन्ने जवाफ दिए पछि महात्मा निराश भएर फर्किएछन् । अनि महात्माले वेश्यामा मन लगाएर आफ्नो कर्म निरन्तर गर्दै गएछन् । वेश्याले पनि ईश्वरमा मन लगाएर आफ्नो कर्म निरन्तर गर्दै गइछन् । कालान्तरमा दुबैको एकै समयमा मृत्यु भएछ । त्यसबेला महात्मालाई लिन यमराजका दूत आए । वेश्यालाई लिन देवताका दुत आए । महात्माले यस्तो के आश्चर्य भयो भनी देवताका दूतसंग सोध्दा तपाईंको भावना विषयतिर थियो, वेश्याको भावना ईश्वरतिर थियो भन्ने जवाफ दिएछन् । भावना भित्र मनमा हुन्छ, कर्म बाहिर देखिन्छ । तपाईंको कर्म बाहिर बाहिर हेर्दा सत्कर्म देखिए पनि भावना पवित्र नदेखिएकोले यमलोक जानु परेको हो भन्ने जवाफ पाएछन् । मान्छेले आफ्नो भावना अनुसारको फल पाउँछ । त्यसैले शास्त्रमा भनिएको छ– ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी’ ।

कर्म गर्दा होशियार भएर गर्नुपर्दछ । नत्र विकर्म भएहाल्छ । विकर्म गर्दा उल्टो फल मिल्छ । यहाँ देवराज इन्द्रको एउटा प्रसंग उल्लेखनीय छ । एकपटक स्वर्गका राजा इन्द्रले एउटा सभा बोलाएका थिए । त्यसैबेला गुरु वृहस्पतिको आगमन भयो । इन्द्रले गुरुको स्वागत सत्कार गरेनन् । गुरुले आफ्नो अपमान सम्झेर सभा छोडेर जानुभयो । केही समयपछि दानवले मौका छोपेर स्वर्गमाथि आक्रमण गरे । गुरुको अनादर गर्नु विकर्म हो । विकर्मको फल राजा इन्द्रले पनि पाए । संकट आइलागेपछि देवराज इन्द्र सारा देवताहरुलाई जम्मा गरेर भगवान विष्णुको शरणमा गएछन् । विष्णुले ‘गुरुको अनादर गरेको हुनाले देवताहरु शक्तिहीन भएका छन् । दानवहरु बलवान छन् । त्यसैले दधिचि ऋषिको हाडको अस्त्र बनाई प्रहार गरे पछि दानवको नाश हुन्छ’ भनेर सल्लाह दिनुभएछ ।

गीतामा श्रीकृष्णले भन्नुभएको छ– ‘कर्म गर, कर्ममा तिम्रो अधिकार छ, फलमा तिम्रो अधिकार छैन, फल ईश्वरले दिने हो ।’ हामी यो संसारमा सत्कर्म गर्न जन्मिएका हौं । संसारमा जन्मेपछि सबैले सत्कर्म गर्नुपर्दछ । अवतार लिएर यो संसारमा जन्मलिने भगवानले पनि सत्कर्म गर्नुहुन्छ । ईश्वरको कर्म निष्काम हुन्छ । हामीले आशक्त भएर कर्म गर्दछौं । सत्कर्म कहिल्यै नाश हुँदैन । सत्कर्मलाई मानिसले नाश गर्न सक्दैन । सत्कर्मको नाश हुन थाल्यो भने विष्णुले अवतार लिएर जोगाउनु हुन्छ । त्यसैले श्रीकृष्णले भन्नुभएको छ–

‘अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्’ । उदाहरणको लागि कंशको अन्याय अत्याचार बढेपछि र धर्मको नाश हुन थालेपछि कृष्ण अवतार भएको थियो । कर्मको फल ढिलोचाँडो सबैले भोग्नै पर्दछ । कंसले पनि आफ्नो कर्मको फल भोग्यो । ‘नाभुत्तंm क्षियदे कर्म कल्पकोटी शतैरपि’ अर्थात् सयौंकोटी कल्प विते पनि कर्मको फल नभोगी सुख पाइँदैन ।

हामीले फलको इच्छा राखेर कर्म गर्छौं । इच्छा कहिले कसैको पनि पूरा भएको छैन । शरीर जीर्ण भए पनि, कपाल सेतै फुले पनि, दाँत झरे पनि, आँखा बन्द भए पनि, लट्ठीको सहाराले हिंड्ने भएपछि पनि मान्छेले इच्छा गरि रहन्छ । जस्तो बृद्ध हुँदा पनि नेताले सत्ताको मोह छोड्न नसकेको जस्तो । मानिसले फलको आश गरिरहन्छ । मानिसको इन्द्रीय कहिल्यै तृप्त हुँदैनन् । राजा ययातिले ‘मैले कैयौं वर्ष राज्य गरें, सुखभोग गरें मेरा इन्द्रीय कहिल्यै तृप्त भएनन्’ भन्नु भएको थियो । ‘नजातु जातु कामः कामानामुपभोगेन शाम्यति’ अर्थात् विषय उपभोग गरेर शान्त हुँदैन । घिउ हालेर आगो कहिल्यै निभ्दैन, झन बढ्दै जान्छ ।

दिनदिनै मानिसले संसार छोडेर गइराखेका छन् । त्यो देख्दादेख्दै पनि हामी बाँचिरहन्छौं भन्ने जस्तो ठानेर, सत्कर्म छोडेर संसारमा भुलेका छौं । यो संसार माया मोहको कराही हो । रात्रिमा चन्द्रमाले र दिनमा सूर्यले यो कराहीलाई तताइरहेका छन् । दिनरातरुपी डाडुले मानिसलाई चलाएर, पकाएर कालले खाइरहेको छ । यस्तो कालले खाइरहेको देख्दादेख्दै पनि यो संसारमा मानिसले असत कर्म गरिरहेका छन् । लडाइँ झगडा तेरो मेरो भनी गुट उपगुटमा लागेर भागबण्डा गर्दै समय बिताइरहेका छन् ।

मानिसले पूजाआजा, तीर्थ ब्रत त गरेकै छन् तर विचारमा चाहिँ परिवर्तन भएको छैन । महात्माको भावनामा परिवर्तन नभएको जस्तो मानिसकोे भावनामा परिवर्तन भएको छैन । यो संसार ईश्वरको हो भन्ने भावनाले सात्विक कर्म गरेका छैनन् । तामसी कर्ममा अहंकार हुन्छ तर यही कर्ममा मानिस भुलेका छन् ।

अहंकारको फल राम्रो हुँदैन । राजा बलिमा धेरै दान गर्न सक्छु भन्ने अहंकार थियो । उनको अहंकार तोड्न बामन अवतारका भगवानले तीन पाइला जमिन दान माग्नुभएको प्रसंग स्मरणीय छ । बलिराजाले मेरो राज्यमा के तीन पाइला जमिनको दान माग्नु हुन्छ अरु पनि माग्नुस भन्नु भएको थियो । तर बामन भगवाले दान लिने बेला विशालरुप लिनुभयो अनि उहाँको पहिलो पाउले पूरै पृथ्वी ढाक्यो, दोस्रो पाउले आकाश ढाक्यो र तेस्रो पाउ राख्ने जमिन नभएपछि बलिराजाले आफ्नो टाउको थाप्नुपरेको थियो । त्यसै अहंकार फल उनलाई पातालमा जानु प¥यो । दान सत्पात्रलाई दिनुपर्दछ । राजा बलिले सत्पात्रलाई नै दान दिएका थिए तर अहंकारपूर्वक । त्यसैले उनलाई पाताल जानुुुपरेको थियो ।

सत्पात्र भनेको नचुहिने भाँडो जस्तो हो । भगवानलाई दिएको दान खेर जाँदैन । बलिराजाले सर्वस्व दान दिएको हुँदा भगवान प्रशन्न भएर बलिराजाको चौकिदार भएर पातालमा बस्नु भएको प्रसंग पनि पाइन्छ । यसलाई विचार गर्दा देशमा पनि सत्पात्रलाई पद दिनु पर्दछ भन्ने बुझ्न सकिन्छ । एउटै मात्र सत्पात्र भयो भने पनि देशको शिर ठाडो पार्न सक्छ । नेता सत्पात्र भए जनता सत्कर्ममा जुट्छन् । कुपात्रको हातमा सत्ता गयो भने देशै डुव्छ । त्यसैले सत्कर्म गरौं र सत्पात्र छानौं ।

कमेन्ट्स
Loading...