सुचना, समाचार र मनोरन्जन

नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।

काठमाडौँ /

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् ।  नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।  लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ ।  युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका थिए। मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

कमेन्ट्स
Loading...