पोखरा /
पोखरेली युवा साँस्कृतिक परिवारले कलाकार तथा काटुर्निस्ट दुर्गा बराल ‘वात्स्यायनको अभिनन्दन तथा रथारोहण गर्ने भएको छ । यही चैत्र ४ गते शनिबार बराल ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्दै छन् । बरालको जन्मोत्सवको छेको पारेर पोयुसाँपको अगुवाइमा पोखराका साहित्यिक तथा वाङ्मयिक ३१ ओटा संस्थाले अभिनन्दन गर्ने भएका हुन् ।
वि.सं. १९९९ सालको चैत ४ गते कास्कीको साविक आर्बा हाल पोखरा १३ मा जन्मिएका कलाकार बरालले सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई नेपाली चित्रकारितालाई यथार्थवादी धारमा डो¥याउन उल्लेखनीय योगदान दिएका छन् । बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेका छैन, थुप्रै अनुजहरूलाई दीक्षित पनि गरेका छन् ।
बरालले वात्स्यायनका नाममार्फत् व्यङ्ग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसङ्गति र बेथिति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रूपमा आफूलाई उभ्याएका छन् । कार्टुनमा उनी वात्स्यायन नामले कहलिएका छन् । साथसाथै व्यङ्ग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पु¥याएका छन् ।
पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई नै दिनुपर्छ । त्यसो त पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको कम्ती योगदान छैन ।
राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किएका कलाकार बराल पोखरा र देशकै अमूल्य रत्न हुन् । उनको अभिनन्दन गर्ने अवसर पोखरेली युवा सांस्कृतिक परिवार र यहाँका साहित्यक तथा वाङ्मयिक संस्थाहरुका निम्ति सुनौलो सौभाग्य भएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
चैत ४ गते शनिबार कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट सुरु भई कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने रथारोहणमा सम्पूर्ण पोखरेलीजनलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गरिएको छ ।