सुचना, समाचार र मनोरन्जन

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न, दशबुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ/

दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेको क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजो औपचारिकरुपमा सम्पन्न भएको हो ।

नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एकरअर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ। त्यस्तै महाभारत कालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ।

आउँदो महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टालाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षौँभरि दुवै देशमा विभित्र साहित्यिक कार्यक्रम आयोजना गर्ने र एकरअर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए ।

आउँदो दिनमा थप व्यवस्थित र वृहत् कार्यक्रम गर्ने उनको भनाइ थियो । भौतिक विकासलाई मात्रै हामीले विकासका रुपमा लिने गरेका छौँ, मेयर कोइरालाले भने, भौतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिको पनि विकास हुनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि र संस्कारयुक्त समाज निर्माण हुन्छ ।

नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक तीन सय ५० वटाभन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो । महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा र कविगोष्ठीसमेत भएको थियो । महोत्सवमा दुई सय ५० वटाभन्दा बढीले सिर्जना वाचन गरेका थिए।

कमेन्ट्स
Loading...