सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले जारी गर्‍याे ह्विप

काठमाडौं /

सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिने निर्णय गरेको छ।

मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। साथै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ह्विप पनि जारी गरेको छ। रास्वपाका चार मन्त्रीसहित २१ सांसद छन्। प्रधानमन्त्री दाहालले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि तत्कालीन सत्तारुढ कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धन सहितको सरकारका लागि विश्वासको मत लिन लागेका हुन्।

फागुन २१ गते बनेको नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ।

हालसम्म प्रधानमन्त्रीलाई पाँच दलको १५२ सांसदको समर्थन जुट्ने देखिएको छ। संसद्मा अहिले कांग्रेसको ८७, राप्रपाको १४, जनमतको ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीको चार(चार गर्दा ११५ मत गठबन्धन बाहिर छ।

एमालेको समर्थनमा २०७९ मा १० पुसमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। यही कार्यकालमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो। चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमालेलगायत दलहरूको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्रीले २६ पुसमा ९८ प्रतिशत बढी सांसदको समर्थन पाएका थिए। पहिलो पटक कांग्रेससहित २६८ सांसदको समर्थन पाउँदा दोस्रो पटक चैत ६ मा भने प्रधानमन्त्री दाहालले १७२ सांसदको समर्थन पाए।

राष्ट्रपति कांग्रेसको भागमा परेपछि एमाले सरकारबाट बाहिरिएको थियो। अहिले फेरि एमालेले प्रधनमन्त्रीलाई विश्वासको मत दिँदैछ।

जसअनुसार प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भएपनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

Leave A Reply

Your email address will not be published.