चितवन /
चितवन क्षेत्र नं २ बाट एमाले जिल्ला अध्यक्षमा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला कमिटीले न्यौपानेको नाम एकल सिफारिस गरेको हो।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला अध्यक्ष न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । न्यौपानले गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।
चितवन क्षेत्र नं २ बाट भने एमाले कृष्णभक्त पोखरेल उम्मेदवार बनेका थिए। एमालेले चितवन क्षेत्र नं. ३ मा कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई सर्मथन गरेपछि न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले माथिबाट नै तानिदिएको थियो ।
एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालिन भएका न्यौपाने युवा नेता मानिन्छ । २०५५ साल र २०५६ साल गरी दुई पटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका न्यौपाने २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएका थिए । उनी २०७८ पुसमा एमालेको चितवन जिल्ला अध्यक्ष भएका थिए ।
