रोगमुक्त जीवन बाँच्नका लागि हामीले जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ । यसमा खानपानदेखि हाम्रो दिनचर्यासम्म कस्तो हुनुपर्छ भनी उल्लेख गरिएको छ ।
खानपान शैली
अक्सर हामी खान हतारिन्छौं । सोचाई के छ भने, खाना खाँदा धेरै समय खर्च गर्नु हुँदैन । यो समयको वर्वादी हो ।
जबकी हाम्रो जीवनको उर्जा, शक्ति, ताकत भनेकै खानाबाट मिल्ने हो । समग्र शरीरको निर्माण र संचालनमा खानाकै भूमिका हुन्छ । त्यसो भए खानालाई किन महत्व नदिने ?
खाना खाँदा एकदम आरमपूर्वक खानुपर्छ । पटक्कै हतार नगरी । प्रशन्न, खुसी, आनन्दित भएर । खाना खुब चपाएर खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ । यसले खानाको स्वाद पनि लिन पाइन्छ । साथसाथै पाचन यन्त्रलाई पनि अनावश्यक बोझ हुँदैन ।
एक पटक अभ्यास गरेर हेरौं, मिहिन ढंगले चपाएर खानेकुरा सेवन गर्दा धेरै फाइदा पुग्छ । एक त यसले पाचन यन्त्रलाई सहज बनाइदिन्छ । खाएको खानेकुरा सहजै पच्छ । अर्कोचाहि मजाले स्वाद लिन पाइन्छ । साथसाथै बिस्तारै चपाएर खाना सेवन गर्दा ओभर डाइटिङबाट बचिन्छ । किनभने लामो समय लगाएर खाना खाँदा हतारमा खाएजस्तो धेरै मात्रामा खानेकुरा खाइदैन ।
हरियो सागसब्जी
हाम्रो थालमा कुन खानेकुरालाई बढी महत्व दिने रु त्यो हाम्रै हातमा छ । त्यसैले जति खाना लिइन्छ, त्यसको अधिकतम् हिस्सा सागसब्जीको होस् । हरियो सागसब्जी प्रशस्तै सेवन गरौं । हरियो सागसब्जी फाइबरको राम्रो स्रोत हो । फाइबरले पाचन पद्धतीमा सहयोग गर्छ । जब पाचन यन्त्र चुस्त तथा तन्दुरुस्त हुन्छ, त्यसको प्रभाव समग्र शरीरमा रहन्छ ।
तर, हेक्का राख्नुपर्ने चाहि के भने अहिले धेरैजसो सागसब्जीमा विषादी प्रयोग गरिएको हुन्छ । किटनासक औषधी प्रयोग गरिएको सागसब्जीले स्वास्थ्यलाई विषाक्त बनाउँछ । संभव भएसम्म आफ्ना लागि आफ्नै बारी, बगैंचामा सागसब्जी उत्पादन गर्नु राम्रो हो । त्यो संभव नभए, बजारबाट खरिद गरिएको सागसब्जी आधा घण्टा जति सफा पानीमा डुबाएर राख्ने ।
साथै, बेमौसमी सागसब्जी सेवन नगर्ने । कृतिम ढंगले उत्पादन गरिएका सागसब्जी त्यती उपयोगी हुँदैन ।
कति खाने ?
भनिन्छ, स्वस्थ्य व्यक्तिको पेट उनको मुट्ठी बराबर हुन्छ । त्यस्तै स्वास्थ्यप्रति लापरवाही व्यक्तिको पेट फूटबल साइजको हुन्छ । सुन्दा हाँसउठ्दो लाग्न सक्छ। तर, यो सत्य कुरा हो ।
तपाईले ख्याल गर्नुभएको छ÷छैन, खानाप्रति आशक्ति हुने व्यक्तिहरु रोगी हुन्छन् । धेरै खाने, मिठोमसिनो खाने व्यक्तिलाई रोगले समात्छ । लामो आयु बाँच्ने एक बृद्धाले भनेकी थिइन्, ‘थोरै खाउँ, धेरै बाँच ।’ धेरै खानु स्वास्थ्यका लागि फाइदाजनक छैन । धेरै खाँदैमा शरीरलाई आवश्यक पोषण पुग्छ भन्नु भ्रम हो । बरु पेटभर खानेकुरा खाँदा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।
त्यसैले हरेक छाकमा थोरै भोक पनि लिएर उठौं ।
सुत्ने र उठ्ने तालिका
अहिले शहरिया तन्नेरीहरु राती जागा रहन्छन् । धेरैजसो राती ११, १२ बजेसम्म बस्ने गर्छन् । कोही पढ्छन्, कोही टिभी हेर्छन्, कोही सामाजिक सञ्जालमा विताउँछन् । जबसम्म निन्द्रा लाग्दैन, ओछ्यानमा घुस्रिदैनन् । खासगरी पढ्ने उमेरका युवाहरुमा यस्तो बानी छ ।
अन्यमा पनि यस्तो समस्या छ । राती अबेरसम्म नसुत्नु समस्या नै हो । किनभने स्वस्थ्य जीवनका लागि सुत्ने र उठ्ने तालिका नियमित हुनुपर्छ । राती चाडै सुत्नु र बिहान सबेरै उठ्नु स्वस्थ्य जीवनको सूत्र हो ।
राती ९ बजेदेखि १० बजेसम्म सुत्नुपर्छ । बिहान सूर्योदयअघि उठ्नुपर्छ ।
स्वास्थ्य जीवनका लागि राती सात वा आठ घण्टा सुत्नैपर्छ । सुर्योदयअघि नै उठ्ने हो भने राती चाडै सुत्नैपर्छ ।
चिनिजन्य खानेकुरा नियन्त्रण
चिनीजन्य खानेकुरा स्वस्थ्यवद्र्धक मानिदैन । जबकी चिनी आफैमा स्वादिलो एवं मिठो हुन्छ । अर्को गाँठी कुरा, धेरैजस्तो खाद्यपदार्थमा चिनीको प्रयोग व्यापक रुपमा भएको हुन्छ ।
चाहे तयारी जुस होस् वा कोल्ड ड्रिंक, कुनै मिठाई होस् वा रेष्टुरेन्टको परिकार । यस्ता खानेकुरामा चिनीको मात्रा अत्याधिक हुन्छ । तर, चिनीले स्वास्थ्यमा फाइदा गर्दैन । यसको असर त अहिले देखिन थालिएको छ । धेरैजसो मोटोपनको समस्यामा पनि यस्तै खानेकुराको प्रभाव देखिन्छ ।
चिनीजन्य खानेकुरा नियन्त्रण गर्नैपर्छ । तर, पूर्ण रुपले वा सत्प्रतिशत चिनी त्याग्नु पनि ठीक होइन । केही समयअघि विविसीमा कार्यरत एक पत्रकारले पूर्ण रुपमा चिनी त्याग गर्दाको बेफाइदाबारे बताएकी थिइन् । उनको लेखको निचोड थियो, चिनी हानिकारक हो । तर, यसलाई पूर्ण रुपले त्याग्नु मिल्दैन । किनभने हाम्रो शरीरमा हरेक खानेकुराको सन्तुलन मिलाउनुपर्छ ।
प्रविधिबाट टाढा
प्रविधिको जमाना छ । डिजिटल युगमा प्रविधिलाई पन्छाएर अघि बढ्न संभव छैन पनि । सजिलो र छरितो कार्य–सम्पादनका लागि प्रविधिको प्रयोग गर्नैपर्छ।
तर, प्रविधिप्रति हाम्रो परनिर्भरता यसरी बढ्दैछ कि त्यसले स्वास्थ्यमा गंभिर असर निम्त्याउँदैछ । अहिले हामी हरक्षण मोवाइल, ट्याबलेट, ल्यापटपमा विताउन थालेका छौं । यसले एकातिर हामीलाई शारीरिक रुपले निस्क्रिय बनाउँदैछ भने, अर्कोतिर त्यसबाट उत्पन्न विकिरणले स्वास्थ्यमा असर पु¥याउँदैछ।
बिहान ओछ्यान छाड्नुअघि नै मोबाइलको स्क्रिनमा खेल्न थाल्छौं । थोरै फुर्सद पाउनसाथ फेसबुक चलाउन थाल्छौं । जबकी यस्तो समयमा हामीले बाहिर हिँडडुल गर्नुपर्ने हो । ताजा हावा खानुपर्ने हो ।
प्रविधिको सही प्रयोग गर्ने र फुर्सदको समयमा हिँडडुल गर्ने, टहल्ने गरौ ।
ध्यान, योगलाई जीवनको हिस्सा
करियर, पैसा, परिवारको पछि लाग्दा लाग्दै हामी आफैलाई बिर्सन्छौं । कम्तिमा दिनमा एक घण्टा आफ्नो लागि छुट्याउन सकिन्छ ।
आफ्नो दिनचर्याको प्रारम्भ प्रातकालिन भ्रमण, व्यायामबाट गरौं । नियमित व्यायामले शरीर चुस्त, तन्दुरुस्त हुन्छ । रक्त संचार सही ढंगले हुन्छ । व्यायामलाई दिनचर्याकै एक हिस्सा बनाउन सके धेरै किसिमको रोगले संक्रमण गर्दैन । किभने नियमित व्यायामले शरीर स्वस्थ्य हुन्छ । शरीर स्वस्थ्य भएमा रोगप्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ ।
हरेक दिन योग गरौं, ध्यान गरौं । योगले शरीरको समूचित व्यायाम हुन्छ ।
