काठमाडौँ/
मार्च महिनामा नेपालमा झन्डै एक लाख जना विदेशी पर्यटक आएका छन् । मार्च महिनामा ९९ हजार चार सय २६ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएका र भारतसँगको नाकाबाट आएका तेस्रो देशका विदेशीहरूको सङ्ख्या हो ।
सबैभन्दा धेरै पर्यटक भित्रिने १० देशमध्ये भारतबाट १५ हजार नौ सय ११, अमेरिकाबाट नौ हजार पाँच सय ५७, बेलायतबाट छ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९, श्रीलङ्काबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन जार छ सय ३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार छ सय ३५ र दक्षिण कोरियाबाट दुई हजार छ सय ३९ जना रहेका छन ।
पोहोर अर्थात सन २०२२ को मार्चमा जम्मा ४२ हजार जना पर्यटक नेपाल आएकामा अहिले दोब्बरभन्दा धेरैले बढेर झन्डै एक लाख जना पुगेको हो । यस्तै कोरोना महामारीको बेला सन २०२१ मा १५ हजार दुई सय जना पर्यटक आएका थिए।
कोरोना सुरु हुनुअघि सन् २०१९ को मार्चमा नेपालमा एक लाख २७ हजार जना पर्यटक आएका थिए । कोरोना सुरु हुनुअघिको तुलनामा नेपालमा पर्यटक आगमन ७८ प्रतिशतले सुधार भएको पर्यटन बोर्डले जनाएको छ ।
