काठमाडौँ/
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन्।
जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उनको भनाइ थियो। उनले भने, ‘यो व्यवस्थालाई कमजोर पार्ने वा यसका उपलब्धिहरुमाथि धावा बोल्ने काम गर्न नदिन सरकार दृढ र प्रतिबद्ध छ।’
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भीर रहेको बताए।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या समाधान गर्ने सरकारको योजना रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले जनताको जीवनमा परिवर्तन ल्याउनका लािग विकास र समृद्धिको अभियानलाई तीव्रता दिने लक्ष्य लिएको पनि बताए।
